बैतडी- बैतडीको पाटन नगरपालिका वडा नम्बर ३ स्थित बनारसी धाम, विश्वनाथ ज्योतिर्लिङ्ग मन्दिरमा यस वर्ष १४४ वर्षमा महाकुम्भ मेला लाग्ने भएको छ। धामका पिठाधिश्वर आचार्य गणेशप्रसाद पन्तका अनुसार, माघ १ गते मकर स्नानसँगै मासभरि मास पारायण मेला आयोजना हुनेछ।




मेलाको अवसरमा माघ ५ गतेदेखि नवरात्र सुरु हुने र माघ १४ गते शल्य दशमीको दिन मुख्य मेला लाग्ने पन्तले जानकारी दिए। यस अवसरमा बैतडीसहित भारतको उत्तराखण्ड र उत्तर प्रदेशबाट भक्तजनहरू सहभागी हुने अपेक्षा गरिएको छ।


बनारसी धाममा ४२१ वर्षअघि जातीय छुवाछूत उन्मूलन गरिएको थियो। धाममा कुनै पनि किसिमको जातीय विभेद गर्न नपाइने नियम छ। मूल पुजारी दलित समुदायका व्यक्ति हुने परम्परा छ। हाल कुणीका धिरे लुहार, बस्तीका पदमे लुहार, बोहरीका गौरे लुहार, नङाणीबाटाका नरिभान लुहार, खिपालीका झुले लुहार र गोकुलेश्वरका जनक लुहार मूल पुजारी रहेका छन्।
धाममा पूजा क्रम कुणीबाट सुरु भएर गोकुलेश्वरसम्म हुने गर्छ। पाटन–३ गुजारबाट पुजारीहरूले आफैं पूजा सामग्री ल्याउने परम्परा छ भने चुनिएका चन्द थरका व्यक्ति सहस्त्रलिङ्गको धामीसँगै सिंहासनमा बसेर पूजा सघाउने व्यवस्था छ। गुजरस्थित सुकाबैनाका भट्ट परिवारका मुखियाहरू पनि पुजा कार्यमा खटिने गर्छन्।




