अत्तरियामा सृजनशील गोदावरी सांस्कृतिक महोत्सव रौनकपूर्ण बन्दै, शनिबार र्यापर जी–बबको विशेष प्रस्तुति





अत्तरिया- कैलालीको गोदावरी नगरपालिकाको अत्तरियामा सञ्चालन भइरहेको सृजनशील गोदावरी सांस्कृतिक महोत्सव दर्शकको उल्लेखनीय उपस्थितिसँगै रौनकपूर्ण बन्दै गएको छ। महोत्सव अन्तर्गत शनिबार चर्चित र्यापर जी–बबको विशेष सांगीतिक प्रस्तुति रहने आयोजकले जानकारी दिएको छ।


शनिबार हुने कार्यक्रमलाई विशेष आकर्षणका रूपमा प्रस्तुत गरिएको छ। उक्त कार्यक्रममा र्यापर जी–बबसँगै गायिका अन्जु कुश्मी, गायक शेर आउजी, जे.आर. भट्ट तथा लोकप्रिय डान्सर आरुशी मगरलगायत राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति रहनेछ। आयोजकका अनुसार स्थानीय प्रतिभालाई समेत प्रोत्साहन गर्ने उद्देश्यले विभिन्न स्थानीय कलाकारहरूलाई मञ्च प्रदान गरिएको हो।



यसअघि शुक्रबार सम्पन्न कार्यक्रममा चर्चित गायक हेमन्त शर्मा र चेतन बोहरा, देउडा गायक भुवन दाहाल, डान्सर सरस्वती सेठीलगायत कलाकारहरूले प्रस्तुति दिएका थिए। उनीहरूको प्रस्तुतीले दर्शकलाई भरपूर मनोरञ्जन दिएको थियो भने कार्यक्रमस्थल दर्शकले खचाखच भरिएको थियो।
आयोजकका अनुसार महोत्सव मनोरञ्जनमा मात्र सीमित नभई स्थानीय संस्कृति, कला र अर्थतन्त्रको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको हो। महोत्सव अवधिभर राष्ट्रिय तथा स्थानीय कलाकारहरूको सांगीतिक प्रस्तुति, सांस्कृतिक झाँकी तथा परम्परागत कार्यक्रमहरू, स्थानीय उत्पादन, हस्तकला र कृषि प्रदर्शनी सञ्चालन भइरहेको छ।
त्यसैगरी, युवा उद्यमशीलता, रोजगारी तथा व्यवसाय प्रवर्द्धनसम्बन्धी सूचना स्टल, स्थानीय उत्पादनको प्रवर्द्धन तथा समुदायमैत्री मनोरञ्जन कार्यक्रमले पनि दर्शकको ध्यान आकर्षित गरिरहेको आयोजकले जनाएको छ। महोत्सवले स्थानीय व्यवसायी, किसान तथा हस्तकलाकारलाई आफ्ना उत्पादन प्रदर्शन र बिक्री गर्ने अवसर प्रदान गरेको आयोजकको भनाइ छ।
पौष ९ गतेदेखि सुरु भएको सृजनशील गोदावरी सांस्कृतिक महोत्सव पौष १९ गतेसम्म सञ्चालन हुने आयोजकले जानकारी दिएको छ। महोत्सवले गोदावरी क्षेत्रको सांस्कृतिक पहिचान उजागर गर्दै आन्तरिक पर्यटन प्रवर्द्धनमा समेत योगदान पुर्याउने अपेक्षा गरिएको छ।



