धनगढी- कैलालीको धनगढीमा एकै घरका देवर–भाउजु ब्राउन सुगरसहित पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका–१० बस्ने राम मिलन रानाको घरमा अवैध लागुऔषध बिक्रि वितरण भईरहेको भन्ने सूचनाको आधारमा घर तलासी गर्दा उनको श्रीमती २० वर्षकी द्रोपती रानाको साथबाट २ ग्राम १४० मिलिग्राम र भाई १७ वर्षको महेश राना रानाको साथबाट १४० मिलिग्राम ब्राउन सुगर फेला पारी प्रहरीले दुबै जना देवर–भाउजुलाई मंगलार पक्राउ गरेको हो । वडा प्रहरी कार्यालय धनगढी र लागुऔषध व्यूरो कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।




यसैगरी टीकापुर नगरपालिका–९ खक्रोला चेकपोष्टबाट बर्दियाको राजापुर नगरपालिका–४ घुम्ना बस्ने २१ वर्षीय राजेश थारु र संघर्षनगर बस्ने २३ वर्षीय ईन्द्रबहादुर थारुलाई पक्राउ गरिएको छ । यी दुबै जनालाई चेकजाँच गर्दा उनीहरुको साथबाट २ ग्राम ९०० मिलिग्राम खैरो हिरोईन फेला पारी उक्त पदार्थसहित दुबै जनालाई प्रहरी चौकी कालाकुण्डा, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ ।


टीकापुरबाटै थप एक जना पक्राउ परेका छन्। टीकापुर नगरपालिका–९ खक्रोला चेकपोष्टबाट लम्किचुहा नगरपालिका–४ कौवापुर बस्ने २६ वर्षीय सुनिल मल्ल पक्राउ परेका छन्। मल्लले चलाएको सुदूरपश्चिम प्रदेश ०१–०१० प ८१३५ नम्बरको मोटरसाईकल चेकजाँच गर्दा मोटरसाईकलको सिट भित्र २ ग्राम ९८० मिलिग्राम लागूऔषध खैरो हिरोईन फेला पारी उक्त पदार्थ, मोटरसाईकल र मल्ललाई इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।




