सृजनशील गोदावरी सांस्कृतिक महोत्सवको सम्पूर्ण तयारी पूरा, महोत्सव पुष ९ देखि १९ गतेसम्म सञ्चालन हुने


लक्ष्मी भट्ट/अतरिया- सृजनशील युवा क्लब अतरियाले पुष ९ गते बुधबारदेखि पुष १९ गते शनिबारसम्म “सृजनशील गोदावरी सांस्कृतिक महोत्सव २०८२” आयोजना गर्ने भएको छ । क्लबले पत्रकार सम्मेलन गरी महोत्सवको सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिएको छ । महोत्सवको उद्घाटन गोदावरी नगरपालिकाका नगर प्रमुख विरेन्द्र भट्टले गर्ने कार्यक्रम रहेको आयोजकले पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हो ।





आयोजकका अनुसार स्टेज सिंगारको काम बाहेक अन्य सबै तयारी सम्पन्न भइसकेको छ । महोत्सव बिहान १० बजेदेखि साँझ ५:३० बजेसम्म सञ्चालन हुनेछ ।
सृजनशील युवा क्लबका अध्यक्ष तथा महोत्सव व्यवस्थापन समिति संयोजक नरबहादुर राईले वर्तमान आर्थिक अवस्था कमजोर भएकाले व्यापारी, समाजसेवी तथा विभिन्न सहयोगीहरूको सहयोगमा महोत्सव आयोजना गरिएको बताउनुभयो । उहाँका अनुसार महोत्सवबाट प्राप्त आम्दानीको ५ प्रतिशत अनाथ बालबालिकाको सहयोगमा खर्च गरिनेछ भने बाँकी रकम खेलकुद र सामाजिक क्षेत्रमा लगानी गरिनेछ ।

महोत्सव अवलोकन गर्न करिब डेढ लाख दर्शक सहभागी हुने अनुमान आयोजकले गरेको छ । यसपटक अघिल्लो महोत्सवको ग्राउन्ड परिवर्तन गरिएको र नयाँ स्थानबाट खेलकुद तथा सामाजिक गतिविधिमा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
सुरक्षाका लागि सीसी क्यामेरा जडान तथा सबै सुरक्षा निकायको व्यवस्था गरिएको आयोजकले जनाएको छ । विभिन्न उपसमिति गठन गरी व्यवस्थापनलाई प्रभावकारी बनाइएको पनि बताइएको छ ।
महोत्सवमा स्थानीय तथा राष्ट्रिय कलाकारहरूको आकर्षक प्रस्तुति रहनेछ । प्रवेश शुल्कतर्फ विद्यार्थीका लागि ५० रुपैयाँ र अन्यका लागि १०० रुपैयाँ तोकिएको छ भने पूरै महोत्सव अवधिभरका लागि ५०० रुपैयाँको पास उपलब्ध गराइनेछ । पुष ९ गते बुधबार उद्घाटनको दिन भने प्रवेश निःशुल्क रहने आयोजकले जानकारी दिएको छ ।
महोत्सवमा १८० वटा व्यापारिक स्टलहरू निर्माण गरिएको छ । महोत्सवको उद्देश्य मनोरञ्जनसँगै स्थानीय नेपाली कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्नु रहेको आयोजकको भनाइ छ ।
आयोजकले शान्ति–सुरक्षाको पूर्ण व्यवस्था रहेकाले ढुक्क भएर महोत्सव अवलोकन गर्न सबैलाई आग्रह गरेको छ ।