नन्दराज भट्ट ‘उत्कृष्ट युवा पुरस्कार २०२५’ बाट सम्मानित

मधेस प्रदेशको जनकपुरधाममा सम्पन्न नेपाल जेसिजको ५२औँ राष्ट्रिय महाधिवेशनका अवसरमा अपाङ्गता क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका नन्दराज भट्टलाई ‘उत्कृष्ट युवा पुरस्कार २०२५’ बाट स्वर्ण पदकसहित सम्मान गरिएको छ।

Ganyapdhura gau

जन्मजातै अपाङ्ग रहेका भट्टले अपाङ्गतालाई कमजोरी होइन, समाज परिवर्तनको सशक्त माध्यमका रूपमा स्थापित गर्दै निरन्तर सामाजिक योगदान पुर्‍याउँदै आएका छन्। अपाङ्गता भएका व्यक्तिहरूको अधिकार संरक्षण, अवसरमा पहुँच र सशक्तीकरणका क्षेत्रमा उनले गरेको संघर्ष, सेवा र नेतृत्वको उच्च मूल्याङ्कन गर्दै नेपाल जेसिजले उनलाई राष्ट्रिय स्तरको सम्मान प्रदान गरेको हो।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

जनकपुरधाममा आयोजित महाधिवेशनमा देशभरका जेसिज शाखाबाट सहभागी प्रतिनिधिहरूको उपस्थितिमा भट्टलाई सम्मान गरिएको थियो। कार्यक्रममा वक्ताहरूले भट्टको जीवन संघर्ष, आत्मविश्वास र निरन्तर प्रयासले अपाङ्गता भएका व्यक्तिहरू मात्र होइन, सम्पूर्ण युवापुस्तालाई प्रेरणा दिएको उल्लेख गरे। वक्ताहरूका अनुसार भट्टले सामाजिक अवरोध र चुनौतीहरूलाई अवसरमा रूपान्तरण गर्दै समावेशी समाज निर्माणका लागि उल्लेखनीय भूमिका निर्वाह गर्दै आएका छन्। उनको सक्रियताले अपाङ्गता भएका व्यक्तिहरूको आवाज बुलन्द गर्न र उनीहरूलाई नेतृत्वदायी भूमिकामा अघि बढ्न प्रेरणा दिएको बताइएको छ।

महाधिवेशनअन्तर्गत विभिन्न विधामा देशभरबाट छनोट गरिएका १० जना उत्कृष्ट युवाहरूलाई सम्मान गरिएको थियो। सोही अवसरमा सामाजिक न्याय, सेवा र सशक्तीकरणका क्षेत्रमा योगदान पुर्‍याउने अन्य व्यक्तित्वहरू पनि सम्मानित भएका थिए। नेपाल जेसिजले युवाहरूलाई नेतृत्व विकास, सेवा भावना र सामाजिक उत्तरदायित्वतर्फ अभिप्रेरित गर्ने उद्देश्यले नियमित रूपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका कार्यक्रमहरू आयोजना गर्दै आएको छ।

सम्मान ग्रहणपछि भट्टले आफूलाई यस पुरस्कारका लागि सिफारिस गर्ने जेसिज फुलबारी शाखाप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि अपाङ्गता भएका व्यक्तिहरूको हक, अधिकार र सशक्तीकरणका लागि अझ सक्रिय रूपमा काम गर्ने प्रतिबद्धता जनाएका छन्।

Couple
Loading...