बदलिँदो जीवनशैलीले बढ्दै मानसिक स्वास्थ्य समस्या, तनाव व्यवस्थापन अपरिहार्य : सरोकारवाला

धनगढी- बदलिँदो जीवनशैली, खानपान, रहनसहन र प्रविधिको अत्यधिक प्रयोगका कारण मानसिक स्वास्थ्य समस्या बढ्दै गएको सरोकारवालाले बताएका छन्। कैलाली उद्योग वाणिज्य संघको आयोजनामा सुदूरपश्चिम महोत्सवअन्तर्गत ‘भिजन सुदूरपश्चिम’ कार्यक्रमको आठौँ शृङ्खलामा आयोजित ‘बदलिँदो समाज र तनाव व्यवस्थापन’ विषयक बहस कार्यक्रममा वक्ताहरूले तनाव व्यवस्थापनमा समयमै ध्यान नदिए समाजमा गम्भीर समस्या देखिन सक्ने चेतावनी दिएका हुन्।

Ganyapdhura gau

बहस कार्यक्रममा बोल्दै स्वास्थ्य कार्यालय कैलालीका प्रमुख रमेश कुँवरले पछिल्लो समय मानसिक स्वास्थ्य समस्याबाट पीडित व्यक्तिको संख्या बढ्दै गएको बताए। उनले भने, “हरेक १० जना बयस्कमध्ये १ जना कुनै न कुनै मानसिक स्वास्थ्य समस्याबाट प्रभावित छन्, जुन तथ्य समाजका लागि गम्भीर चुनौती बन्न सक्छ।”

Navadurga sun
Godawari sandesh

अहिलेको खानपान, आवश्यकता र सामाजिक संरचनाका कारण मानसिक समस्या बढ्दै गएको उनको भनाइ छ। मानसिक स्वास्थ्यका बिरामी बढ्दै गएपछि नेपाल सरकारले निःशुल्क प्रदान गर्दै आएको ९८ प्रकारका औषधिमध्ये ११ प्रकार मानसिक स्वास्थ्यसम्बन्धी रहेको उनले जानकारी दिए। ती औषधिहरू स्वास्थ्य कार्यालयमार्फत स्वास्थ्य चौकीमा निःशुल्क उपलब्ध रहेको उनले बताए। यद्यपि, गाउँस्तरका स्वास्थ्य संस्थामा मानसिक स्वास्थ्य सेवा, चिकित्सक र आवश्यक पूर्वाधारको अभाव रहेको उनको गुनासो छ।

Dadeldhura hospital

जिल्ला स्वास्थ्य कार्यालय कैलालीले विद्यार्थी लक्षित मानसिक स्वास्थ्यसम्बन्धी कार्यक्रम सञ्चालन गरिरहेको उल्लेख गर्दै कुँवरले सरकारी तथा गैरसरकारी संघसंस्थासँग सहकार्य गरी जनचेतनामूलक कार्यक्रम तथा सञ्चारमाध्यममार्फत सन्देश प्रवाह गरिरहेको बताए।

बहसमा अर्का वक्ता डाक्टर सुशान अर्यालले पछिल्लो समय विद्यार्थी, विशेषगरी किशोरकिशोरीमा मानसिक स्वास्थ्य समस्या बढी देखिएको बताए। उनले किशोरावस्थामा मनमिल्ने साथीभाइसँग आफ्ना पीडा साटासाट गर्ने, परिवारसँग समय बिताउने, घुमघाम गर्ने र ध्यान गर्ने बानीले मानसिक समस्या कम गर्न सहयोग पुग्ने बताए। एक्लोपन मानसिक स्वास्थ्यका लागि हानिकारक हुने उल्लेख गर्दै उनले सामाजिक घुलमिल आवश्यक रहेको बताए।

सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ओमबहादुर रानाले तनाव व्यवस्थापन गर्न नसक्दा आत्महत्या, पारिवारिक बेमेल, दुव्र्यसन, गरिबी, दीर्घरोग र व्यवसायिक असफलता बढ्दै गएको बताए। मानसिक स्वास्थ्य समस्या अपराध वृद्धिसँग पनि जोडिएको उल्लेख गर्दै उनले खेलकुद, सामाजिक सहभागिता र काममा व्यस्त रहनु तनाव व्यवस्थापनका प्रभावकारी उपाय भएको बताए। मानिसका इच्छा–आकांक्षा अत्यधिक हुनु र ती पूरा गर्न नसक्दा पनि आत्महत्या जस्ता घटना बढिरहेको उनको भनाइ छ।

कैलाली उद्योग वाणिज्य संघले यस वर्षदेखि सुदूरपश्चिम महोत्सवमा मनोरञ्जनात्मक कार्यक्रमसँगै बिहानको समयमा ‘भिजन सुदूरपश्चिम’ नामक बहस कार्यक्रम सञ्चालन गर्दै आएको छ। सो कार्यक्रमअन्तर्गत सरोकारवाला निकायसँग समसामयिक विषयमा बहस गरिँदै आएको आयोजकले जनाएको छ।

Couple
Loading...