

नेपाल प्रहरीले काठमाडौँका स्पा र होटलबाट आठ जना नाबालिका बालिकाको उद्धार गरेको छ। यौनजन्य कार्यमा नाबालिकालाई जबर्जस्ती सहभागी गराएको आरोपमा पाँच जनालाई पक्राउ गरिएको मानब बेचबिखन अनुसन्धान ब्यूरोले जनाएको छ।



ब्यूरोले बिहीबार सार्वजनिक गरेको जानकारीअनुसार अनुसन्धानका क्रममा नाबालिकाहरूलाई वेश्यावृत्तिमा लगाइएको प्रमाण फेला परेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको हो। सोही क्रममा ती स्पा र होटलबाट आठ नाबालिकाको उद्धार गरिएको ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिए।


पक्राउ पर्नेमा काठमाडौँ बूढानीलकण्ठ नगरपालिका–१३ का ३२ वर्षीय हेमन्त श्रेष्ठ, सिन्धुली दुधौली नगरपालिका–१२ की ४० वर्षीया गीताकुमारी आचार्य, सल्यान कुमाख गाउँपालिका–४ का ४५ वर्षीय गोविन्द बुढाथोकी, बझाङ छबिसपाथीभेरा गाउँपालिका–१ का ४२ वर्षीय हरिभक्त गिरी र कैलाली गौरीगङ्गा नगरपालिका–६ का ४९ वर्षीय भीमबहादुर साउद रहेका छन्।
उद्धार गरिएका नाबालिकालाई आवश्यक संरक्षण, उपचार तथा पुनर्स्थापनाका लागि सम्बन्धित निकायमा पठाइएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको ब्यूरोले बताएको छ।





