कञ्चनपुर- शुक्लाफाँटा नगरपालिकाका स्थानीय किसानले फार्ममा पालेका कुखुरामा ‘फाउल पोक्स’ रोगको सङ्क्रमण देखिएको छ। नगरपालिकाको वडा नं ८ मा रहेको कुखुरा फार्ममा उक्त भाइरल रोगको सङ्क्रमण पुष्टि भएको हो।



नगरपालिकाको पशुपन्छी शाखा प्रमुख रामप्रसाद भट्टका अनुसार फाउल पोक्स कुखुरा तथा अन्य पन्छीमा देखिने सङ्क्रामक भाइरल रोग हो, जसलाई एभिन पोक्स पनि भनिन्छ। सङ्क्रमित कुखुरामा कल्ली, ठुँडो, आँखाको वरिपरि र पखेटामा दाना, फोका वा पपडीजस्ता घाउ देखिने, खाना कम खाने, कमजोर हुने, तौल घट्ने तथा अण्डा उत्पादन घट्ने लक्षण देखिने उनले बताए।



केही गम्भीर अवस्थामा मुख र घाँटीभित्र घाउ देखिँदा श्वासप्रश्वासमा समस्या हुने र मृत्युदरसमेत बढ्न सक्ने शाखा प्रमुख भट्टले जानकारी दिए। सङ्क्रमण देखिएका फार्मका सञ्चालकलाई मल्टिभिटामिनयुक्त इम्युनो–बुस्टर औषधि प्रयोग गर्न सुझाव दिइएको पशुपन्छी शाखाका पशु चिकित्सक भोजराज पाण्डेयले बताए। उनका अनुसार यस्ता औषधिले कुखुराको रोगप्रतिरोधात्मक क्षमता बढाई मृत्युदर घटाउन सहयोग गर्छ।
अन्य कुखुरा फार्ममा रोग फैलिन नदिन किसानलाई विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ। फाउल पोक्स सङ्क्रमित कुखुरासँगको प्रत्यक्ष सम्पर्क, फार्ममा प्रयोग हुने उपकरण तथा लामखुट्टे र अन्य कीरामार्फत फैलिने जनाइएको छ। समयमै नियन्त्रण नगरे किसानलाई ठूलो आर्थिक क्षति हुन सक्ने जोखिम रहेको पशुपन्छी शाखाले जनाएको छ।
पशुपन्छी शाखाले सङ्क्रमित कुखुरालाई अन्य कुखुराबाट अलग राख्न, फार्मको सरसफाइमा ध्यान दिन, लामखुट्टे तथा कीरा नियन्त्रण गर्न र आवश्यक परे फाउल पोक्सविरुद्धको खोप लगाउन किसानलाई आग्रह गरेको छ। साथै रोगको शङ्का लागेमा ढिलाइ नगरी नजिकको पशु सेवा केन्द्रमा जानकारी गराउन अनुरोध गरिएको छ।
फाउल पोक्स मानिसमा नसर्ने भएकाले मानव स्वास्थ्यमा प्रत्यक्ष असर नपर्ने चिकित्सक पाण्डेयले स्पष्ट पारे। बाह्य क्षेत्रबाट आयात गरिएका चल्लामार्फत रोग भित्रिएको हुनसक्ने आशङ्कासमेत गरिएको छ । रासस




