

धनगढी- धनगढीमा सञ्चालन भइरहेको सुदूरपश्चिम महोत्सव २०८२ को अवधि बढाइएको छ । महोत्सवप्रति देखिएको उत्साहजनक सहभागिता, दर्शकको बढ्दो चाप तथा सरोकारवालाहरूको मागलाई मध्यनजर गर्दै आयोजक कैलाली उद्योग वाणिज्य संघ ले महोत्सवको समापन मिति पुष ६ गतेसम्म कायम गर्ने निर्णय गरेको हो ।


संघका अनुसार महोत्सव सञ्चालनको आठौं दिनसम्म आइपुग्दा करिब १० करोड रुपैयाँको आर्थिक कारोबार भएको छ भने अनुमानित ३ लाख दर्शकले महोत्सव अवलोकन गरेका छन्। यसले स्थानीय उद्योग–व्यवसाय प्रवर्द्धनका साथै पर्यटन र सांस्कृतिक पहिचान उजागर गर्न उल्लेखनीय योगदान पुगेको आयोजकको जनाएको छ ।



२०६३ सालदेखि निरन्तर आयोजना हुँदै आएको सुदूरपश्चिम महोत्सवको यो १९ औं संस्करण हो । देशको वर्तमान आर्थिक र सामाजिक चुनौतीका बीच उद्योग–व्यवसायलाई आशावादी बनाउँदै पुनर्जीवन दिने उद्देश्यले महोत्सव आयोजना गरिएको कैलाली उद्योग वाणिज्य संघले जनाएको छ ।
संघका अध्यक्ष पुष्कर राज ओझा ले महोत्सवलाई भव्य र सफल बनाउन सहयोग गर्ने सम्पूर्ण व्यवसायी, प्रायोजक, सुरक्षा निकाय, कलाकार, सञ्चारकर्मी तथा दर्शकप्रति आभार व्यक्त गर्दै आगामी दिनहरूमा पनि सबै पक्षबाट निरन्तर सहयोग र सहभागिताको अपेक्षा रहेको बताए ।
आयोजकले सुदूरपश्चिम महोत्सवलाई प्रदेशको मात्र नभई राष्ट्रकै नमुना महोत्सवको रूपमा थप उचाइमा पुर्याउन सबै राजनीतिक दल, तीनै तहका सरकार, सरकारी तथा गैरसरकारी संस्था, पत्रकार, विद्यार्थी र आम नागरिकलाई अधिकतम सहभागिता जनाउन आग्रह गरेको छ ।