कञ्चनपुर- कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा साढे ६ वर्षअघि निर्माण सम्पन्न भएको तीनतले सुविधा सम्पन्न सभागृह ‘सिटी हल’ अझै सञ्चालनमा आएको छैन । विसं २०७५ मा सम्पन्न भएको सभागृह प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको स्थानीयवासीको गुनासो छ ।




भीमदत्त नगरपालिका–४ स्थित पूर्वपश्चिम राजमार्गसँगै जोडिएको सभागृहमा अन्डरग्राउन्ड पार्किङसहित तीन हलको सुविधा रहेको छ । सभागृहमा एक हजार जना सम्मको कार्यक्रम समेट्न सकिन्छ । निर्माण तत्कालीन महेन्द्रनगर नगर विकास समितिले रु आठ करोडको लगानीमा सम्पन्न गरेको थियो ।


स्थानीयवासीले नगरपालिकाको नेतृत्वले चासो नदिँदा करोडौँको लगानी व्यर्थ भएको गुनासो गरेका छन् । भीमदत्त नगरपालिकाका सूचना अधिकारी हरिसिंह धामीका अनुसार, “निर्माण कम्पनीले सभागृह नगर विकास समितिलाई हस्तान्तरण गरिसकेको छ । सञ्चालनका लागि प्रमुख प्रशासकीय अधिकृतको संयोजकत्वमा चार सदस्यीय कार्यदल गठन भइसकेको छ। कार्यदलको सुझावअनुसार अघि बढाउने गृहकार्य भइरहेको छ ।”
विसं २०६५ सालमा श्यामसुन्दर र गौरी पार्वती जेभी निर्माण कम्पनीसँग दुई वर्षभित्र काम सक्ने सम्झौता भएको भए पनि, धेरै वर्षपछि मात्र सभागृह सम्पन्न भएको थियो । सञ्चालनमा थप समय लागेपछि स्थानीयहरू असन्तुष्ट छन् ।




