सुदूरपश्चिम प्रदेशमा लागुऔषध दुर्व्यसन भयावह, युवापुस्ता बढी प्रभावित

धनगढी- सुदूरपश्चिम प्रदेशमा लागुऔषधको दुर्व्यसन र अवैध कारोबार तीव्र रूपमा बढिरहेको छ । खुला सीमाका कारण कैलाली र कञ्चनपुर जिल्लामा सबैभन्दा बढी समस्या देखिएको छ भने सात पहाडी जिल्लाहरू पनि यसको प्रभावबाट अछुतो छैनन् । प्रायः दैनिकजसो लागुऔषधसहित पक्राउ पर्ने क्रम जारी रहेको छ भने सबैभन्दा बढी अभियुक्त कारागारमा पुर्पक्ष र कैद सजाय भोगिरहेका छन् ।

प्रदेश प्रहरी कार्यालय, धनगढीका तथ्याङ्क अनुसार विगत ४४ महिनामा नौ जिल्लाबाट २,९३० जना अभियुक्त पक्राउ परेका छन्। यसबाट मुख्य रूपमा युवापुस्ता प्रभावित भएका छन् ।

godawari10 Mahila hinsa
Navadurga sun

चालु आर्थिक वर्षमा मात्रै २३५ जना अभियुक्त पक्राउ परेका छन्, जसमा ९ महिला र बाँकी पुरुष रहेका छन् । कैलालीबाट १२१, कञ्चनपुरबाट ७८, बझाङबाट ९, दार्चुला ५, डडेल्धुरा ४ र बैतडी, डोटी, बाजुराबाट ३–३ जना पक्राउ परेको छ ।

उक्त अवधिमा प्रहरीले हिरोइन ३४१ ग्राम ५०२ मिलिग्राम र चरेश १५ किलो ९६५ ग्राम बरामद गरेको छ । यसका साथै अन्य लागुऔषध सामग्री पनि ठूलो मात्रामा नियन्त्रणमा लिइएको छ । गत आर्थिक वर्ष २०८१/८२ मा सुदूरपश्चिमबाट ६९३ मुद्दा दर्ता भएका थिए भने १०,४३ जनालाई पक्राउ गरिएको थियो ।

Dadeldhura hospital

प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तवले भने, “युवा जनशक्ति यसरी लागुऔषधमा लिप्त हुँदै जाने हो भने यो समाजका लागि दुर्भाग्यपूर्ण अवस्था हुन जान्छ । यसको रोकथाम र नियन्त्रणका लागि प्रहरीले मात्र होइन, अभिभावक र समाजको सामूहिक सहकार्य आवश्यक छ ।”

श्रीवास्तवका अनुसार हरेक दिन सुदूरपश्चिमका सबै जिल्ला र सीमा क्षेत्रमा लागुऔषध नियन्त्रणका लागि प्रहरी सक्रिय छन्। साथै प्रहरीले स्कूलस्तरदेखि गाउँ–टोलसम्म जनचेतनामूलक कक्षाहरू सञ्चालन गर्दै आएको छ । विगत तीन आर्थिक वर्षमा नौ हजार ५७६ जनालाई लक्षित गरी विभिन्न माध्यमबाट जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ ।

तर, भारतीय सीमासँगको सहकार्य पर्याप्त नभएको प्रहरीको भनाइ छ । अधिकारीले भने, “नेपाल–भारत सीमा बैठकमा नेपाली पक्षले लागुऔषध नियन्त्रणका लागि भारतीय पक्षसित आग्रह गर्दै आएको भए पनि गम्भीर चासो देखिएको छैन ।”

धूम्रमान निषेधका अभियानकर्मी मदन चन्दले सुदूरपश्चिममा लागुऔषध दुर्व्यसन भयावह भएको बताए । उनले भने, “स्कुलस्तर र टोल–टोलमा निरन्तर अभियान सञ्चालन आवश्यक छ । देखावटी कार्यक्रमले मात्र रोकथाम सम्भव छैन। अभिभावकले समयमै छोराछोरीको ख्याल नगरे अवस्था अझ विकराल हुन्छ ।”

विशेषज्ञहरूले चेतावनी दिएका छन् कि, यदि यसरी युवापुस्ता लागुऔषधमा लिप्त रहन थाले, भने यसले समाजमा दीर्घकालीन समस्या उत्पन्न गर्नेछ । त्यसैले सरकारी, सामाजिक र परिवारिक पहल एकैसाथ आवश्यक रहेको छ ।

Loading...