धनगढीमा १६ दिने अन्तर्राष्ट्रिय लैङ्गिक हिंसा विरुद्धको अभियान सम्पन्न

धनगढी-  “प्रविधिको सही प्रयोग गरौँ : लैङ्गिक हिंसा अन्त्य गरौँ” नाराका साथ धनगढी उपमहानगरपालिकाद्वारा सञ्चालन गरिएको ३४औँ अन्तर्राष्ट्रिय लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान बुधबार जेन्जी मार्गमा सम्पन्न भएको छ।

समापन कार्यक्रममा उपप्रमुख कन्दकला रानाले अभियान अवधिभर सुदूरपश्चिमका ११ जिल्लाका २,०६८ महिलाले विभिन्न सेवा—परामर्श, कानुनी सहयोग तथा सचेतना कार्यक्रम—प्राप्त गरेको जानकारी दिइन्। उनले अभियानको समापन अन्त्य नभई, उपमहानगरपालिकाबाट लैङ्गिक हिंसा अन्त्यका लागि निरन्तर प्रयास जारी रहने स्पष्ट गरिन् ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

अभियान मङ्सिर ९ गते धनगढीको चौराहादेखि जेन्जी मार्गसम्म प्रभातफेरीसहित सुरु भएको थियो। विश्वभर सन् १९९१ देखि नोभेम्बर २५ (अन्तर्राष्ट्रिय लैङ्गिक हिंसा विरुद्धको दिवस) देखि डिसेम्बर १० (मानवअधिकार दिवस) सम्म हरेक वर्ष १६ दिने अभियान मनाइँदै आएको छ ।

अभियान अवधिभर प्रविधिको दुरुपयोग रोकथाम, जनचेतना अभिवृद्धि र पीडित महिलाको संरक्षणसम्बन्धी कार्यक्रमहरू सञ्चालन गरिएको थियो ।

समापन कार्यक्रममा धनगढी उपमहानगरपालिकाका नगरप्रमुख गोपाल हमाल, विभिन्न वडाका जनप्रतिनिधि, कर्मचारी, सुरक्षाकर्मी, महिला अधिकारकर्मी, सङ्घ–संस्था प्रतिनिधि तथा नागरिक समाजको उल्लेख्य सहभागिता रहेको थियो । सहभागीहरूले लैङ्गिक हिंसा अन्त्यका लागि साझा प्रयास आवश्यक रहेको र अभियानलाई वर्षभरि निरन्तरता दिनुपर्नेमा जोड दिएका छन् ।

अभियानले प्रविधिको सही प्रयोगमा जोड दिँदै समुदायमा लैङ्गिक समानता र सुरक्षित वातावरण सिर्जना गर्ने महत्व पुनः पुष्टि गरेको छ ।

Loading...