

अत्तरिया- कैलालीको गोदावरी नगरपालिका–८ स्याउले बजारमा शनिवार रक्तदान तथा सरसफाइ कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रमको आयोजना स्याउले बजार व्यवस्थापन समितिले गरेको हो ।



रक्तदान कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल नं. ४३ रिजर्भ गण हेडक्वार्टर बनबेहडा, स्याउले आधारभूत स्वास्थ्य केन्द्र, दुर्गा भवानी मावि, दुर्गा ज्योति इंगलिश स्कुल तथा समैजी माविको सहयोग रहेको समितिले जनाएको छ । साथै शिव शक्ति युवा क्लब, सैपाल युवा क्लब र खुटिया चारपाते युवा क्लबले समेत सक्रिय सहयोग गरेका थिए ।


बजार व्यवस्थापन समितिका अध्यक्ष गोपाल देउवाका अनुसार स्थानीयलाई सरसफाइप्रति सचेत गराउने उद्देश्यले सफाइ अभियान सञ्चालन गरिएको हो । बजार क्षेत्रमा डस्टबिन राखिएको भए पनि जनचेतनाको अभावमा केही व्यक्तिले सडकमा नै फोहर फाल्ने गरेकाले सचेतनामूलक सरसफाइ कार्यक्रम आवश्यक भएको उनले बताए ।
उनका अनुसार रक्तदान तथा सरसफाइ कार्यक्रम स्थानीय व्यवसायीहरूसँग सहयोग संकलन गरेर सम्पन्न गरिएको हो । रक्तदानबाट १६ पिन्ट रगत संकलन भएको जानकारी दिँदै अध्यक्ष देउवाले रगत अभावका कारण कसैले ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए । समितिले यस्ता सामाजिक गतिविधिहरू निरन्तर सञ्चालन गर्ने प्रतिवद्धता समेत व्यक्त गरेको छ ।