कञ्चनपुर- कञ्चनपुरको बेलौरी नगरपालिकामा जारी वडा स्तरीय मेयर कप फुटबल प्रतियोगितामा एक खेलाडीमाथि सामूहिक कुटपिट भएको छ । बेलौरी नगर खेलकुद समितिको आयोजनामा मङ्सिर १५ गतेदेखि खुला मञ्चमा सञ्चालन भइरहेको प्रतियोगितामा वडा नम्बर १० का खेलाडी करन पाल माथि शारीरिक आक्रमण भएको हो ।




वडा नम्बर १ र वडा नम्बर १० बीचको सेमिफाइनल खेलका क्रममा ‘हेण्ड बल’ को विषयमा उत्पन्न विवाद झगडामा परिणत हुँदा वडा नम्बर १ का खेलाडीहरूले पालमाथि निर्घात कुटपिट गरेको इलाका प्रहरी कार्यालय बेलौरीका प्रमुख प्रहरी निरीक्षक कमल चौधरीले जानकारी दिए ।


कुटपिटबाट पालको टाउको, नाक, आँखा, अनुहार र शरीरका अन्य भागमा चोट लागेको छ । अहिले उनको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ ।
घटनापछि खेल प्रभावित बनेको छ । खेलाडीहरू उपचारका लागि अस्पताल गएका कारण प्रतियोगिता केही दिनका लागि स्थगित गरिएको आयोजकले जनाएको छ ।




