


अत्तरिया- आउँदो पौष ९ गतेदेखि अत्तरियामा आयोजना हुन लागेको सृजनशील गोदावरी सांस्कृतिक महोत्सव–२०८२ को आधिकारिक लोगो सार्वजनिक गरिएको छ। महोत्सवका आयोजक न्यू सृजनशील युवा क्लब अत्तरियाले बुधबार लोगो सार्वजनिक गर्दै यसले गोदावरी क्षेत्रको सांस्कृतिक, धार्मिक र प्राकृतिक पहिचानलाई अभिव्यक्त गरेको जनाएको छ।


सार्वजनिक लोगोमा गोदावरी क्षेत्रको प्रतीक हनुमान मन्दिर, शिव मन्दिर, कृषि दृश्य, पहाडी भू–भाग तथा तराई क्षेत्रका चित्र समावेश छन्। यी तत्वहरूले गोदावरी नगरको सांस्कृतिक विविधता, धार्मिक आस्था, प्राकृतिक सौन्दर्य र सामाजिक एकतालाई आकर्षक रूपले प्रस्तुत गरेको क्लबले जनाएको छ। क्लबका अनुसार रंग–रूप र संरचनामा स्थानीय कला, संस्कृति, पर्यटन र सामुदायिक सहभागितालाई प्रवर्द्धन गर्ने महोत्सवको उद्देश्य स्पष्ट झल्किएको छ।



आयोजकले विगतका अनुभवका आधारमा यस वर्ष महोत्सवलाई अझ व्यवस्थित, प्रभावकारी र समुदायमैत्री बनाइने जानकारी दिएको छ। महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति, सांस्कृतिक झाँकी, परम्परागत प्रस्तुति, स्थानीय उत्पादन, हस्तकला र कृषि प्रदर्शनी, युवा उद्यमशीलता, रोजगारी र व्यवसाय प्रवर्द्धनसम्बन्धी सूचना स्टल तथा मनोरञ्जन कार्यक्रम रहने छन्।
महोत्सवमार्फत स्थानीय उद्यमीका कृषि, खाद्य, हस्तकला तथा घरेलु उत्पादनको बजार विस्तारमा टेवा पुग्ने अपेक्षा गरिएको आयोजकको भनाइ छ। हालसम्म करिब ५० प्रतिशत तयारी पूरा भइसकेको क्लबले जानकारी दिएको छ।
महोत्सव गोदावरी नगरपालिका–१, सुरक्षा महिला सामुदायिक वनको मैदानमा आयोजन हुने छ। प्रवेश शुल्क विद्यार्थीका लागि ५० रुपैयाँ र सामान्यका लागि १०० रुपैयाँ निर्धारण गरिएको आयोजकले जनाएको छ।





