बैतडीका ज्योतिषाचार्य पन्त दलित बस्तीमै पुगेर कर्मकाण्ड गर्छन्

धनगढी- बैतडीको पाटन नगरपालिका–८ खोड्पे जसुलीखालीका संस्कार शिरोमणी ज्योतिषाचार्य गणेशप्रसाद पन्त २६ वर्षदेखि दलित समुदायका घर–घरमा पुगेर वैदिक विधिबाट धार्मिक कर्मकाण्ड सम्पन्न गराउँदै आएका छन्। जातीय विभेद हटाउने उद्देश्यसहित उनले धम्की र दबाबका बीच पनि आफ्नो अभियान निरन्तर जारी राखेका छन्।
पन्तका अनुसार दलित समुदायमा सप्ताह, व्रतबन्ध, विवाह, न्वारन, वास्तुपूजा, गृहप्रवेशलगायत सयौँ धार्मिक अनुष्ठान उनीसहितको टिमले सम्पन्न गरिसकेको छ। यसअवधिमा उनले ३२ वटा सप्ताह, १६ वटा शिवपुराण, ६६ वटा लघु रुद्राभिषेक तथा १५७ भन्दा बढी विभिन्न पूजाअनुष्ठान गराएका छन्।

Ganyapdhura gau

श्री वनारसीधाम विश्वनाथ ज्योतिर्लिङ्गका मूल पुजारी समेत रहेका पन्तले विगतमा सामाजिक कुरीति हटाउन १४७ जना शिल्पी समुदायका व्यक्तिलाई जनै धारण गराएका थिए। उनका अनुसार धर्मग्रन्थमा दलित वा महिलामाथि कुनै विभेद नभएकाले समाजमा अझै कायम रहेका छाउपडी, जातीय भेदभाव र धार्मिक असमानता अन्त्यका लागि धार्मिक अगुवाहरूले नेतृत्व लिनुपर्छ।

Navadurga sun
Godawari sandesh
Dadhaldhura pur

दलित बस्तीमा कर्मकाण्ड गर्दै उनी त्यहीँ भोजन ग्रहणसमेत गर्छन्। दलित समुदायभित्रै पनि परस्पर विभेद देखिँदा उनले असन्तोष व्यक्त गरेका छन्। सन्ध्यापूजाका क्रममा अथर्ववेदको मन्त्रपाठलाई ‘दलितको वेद’ भन्दै पानी खसाल्ने चलनलाई उनले अन्धविश्वास र मूर्खतापूर्ण संस्कार भने।

यस्ता कुरीति हटाउने अभियानका क्रममा उनका ५७५ पुराना यजमान छुटेसमेत छन्। सामाजिक सञ्जालमा गालीगलौज सहनुपरे पनि उनी आफ्नो मार्गबाट विचलित भएका छैनन्। दलितमाथि विभेद गर्नेहरूलाई कानुनी कारबाही गर्नुपर्ने मागसमेत उनले राखेका छन्।

उनका भनाइमा, धर्मशास्त्र अनुसार महिला र पुरुष मात्र दुई जाति हुन्, मनुस्मृतिजस्ता विभेदकारी ग्रन्थ संशोधन हुनु आवश्यक छ। उनको दीर्घकालीन योजना प्रत्येक हिन्दू घरमा वेद, पुराण, शालिग्राम, तुलसीको मठ, शङ्ख–घण्ट र पाञ्चायन देवता अनिवार्य रूपमा स्थापना गराउनु रहेको छ ।

Couple
Loading...