कञ्चनपुर- कञ्चनपुरको दोधारा चाँदनीमा फुटबल ‘रेफ्री’ र ‘कोच’को प्रशिक्षण सुरु भएको छ ।

कञ्चनपुर जिल्ला फुटबल सङ्घको आयोजनामा, दोधारा चाँदनी नगरपालिकाको आर्थिक सहयोग र अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को प्राविधिक सहयोगमा प्रशिक्षण सुरु गरिएको हो ।

जिल्ला फुटबल सङ्घका अध्यक्ष गणेशबहादुर चन्दका अनुसार देशभरि फुटबल प्रतियोगिता बढ्दै गएपछि रेफ्री र कोचको अभाव देखिएकाले यस प्रशिक्षणको आवश्यकता परेको हो ।

सुदूरपश्चिम र लुम्बिनी प्रदेशबाट ३४ प्रशिक्षार्थी सहभागी रहेका उक्त एक साताको प्रशिक्षण मङ्गलबारदेखि सुरु भएको हो । प्रशिक्षणमा सैद्धान्तिक तथा प्रयोगात्मक दुवै विधिबाट सिकाइ हुनेछ ।
दोधारा चाँदनी नगरपालिकाका प्रमुख किशोरकुमार लिम्बूले स्थानीय प्रतियोगितामा रेफ्रीको अभावका कारण बाहिरबाट बोलाउनुपर्ने अवस्था रहेकाले नगरपालिकाले सहयोग गरेको बताए । “यो सहयोगले स्थानीय रेफ्री र कोच उत्पादनमा टेवा पुग्ने विश्वास लिएका छौँ,” उनले भने ।
खेलकुद विकास समिति कञ्चनपुरका सदस्य विकास महताले स्थानीयस्तरमा फुटबलप्रतिको आकर्षण बढ्दै गएको बताउँदै प्रशिक्षणले खेलको गुणस्तर र व्यवस्थापन सुधारमा योगदान पुर्याउने धारणा राखेका हुन् ।
अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा) का पूर्वसहायक रेफ्री रोजन श्रेष्ठले प्रशिक्षण दिइरहेका छन् । प्रशिक्षणमा १८ देखि ३५ वर्ष उमेर समूहका खेलाडी र पूर्वखेलाडी सहभागी छन् ।
