अत्तरिया- कैलालीको धनगढीमा आजदेखि पुनः शनिवारिय महिला उद्यम मेला सुरु हुँदै छ । धनगढी उपमहानगरपालिकाको व्यवस्थापनमा हरेक शनिवार लाग्ने गरेको महिला उद्यम मेला कात्तिक १५ गते आजदेखि पुनः सुरु हुने भएको हो ।

मेलामा महिला उद्यमीहरुले उत्पादन गरेका सामग्री र खानपानलाई उपभोग गरेर प्रोत्साहित गर्न नगर प्रमुख गोपाल हमालले सबैमा आग्रह गरेका छन् ।


महिलालाई उद्यमतिर अग्रसर गराउने उद्देश्यका साथ गत वर्षदेखि उपमहानगरले हरेक शनिबार महिला महिला उद्यम मेला सुरु गरेको थियो । तर मौषमका कारण खुला स्थानमा लाग्ने उक्त उद्यम मेला गत चैत्र देखि रोकिएको थियो ।
वर्षा याममा मौसम बदली, हावाहुरी लाग्ने र वर्षात हुने भएकोले बिचमा केही महिना रोकिएको र भोलि देखि आउँदो चैत सम्म मेला पुनः सुरु हुन लागेको धनगढी उपमहानगरपालिकाका रोजगार संयोजक चन्द्र महराले बताए ।
धनगढी उपमहानगरपालिकाको व्यवस्थापनमा धनगढी उपमहानगरपालिका–१ स्थित पार्क मोड अगाडि जेनजी मार्गमा शनिबार दिउँसो २ बजेदेखि मेला सुरु हुने नगरप्रमुख हमालले जानकारी दिएका छन् ।
मेलाका लागि स्टल, टेन्ट, टेबुल, मोबाइल शौचालय लगायतको व्यवस्थापन सहित धनगढी उपमहानगरपालिकाले निःशुल्क रुपमा स्टल उपलब्ध गराउने गर्दछ।
