अत्तरिया- नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश कमिटीका सचिवालय सदस्य गोकर्ण भट्टले पार्टी पद र सदस्यता दुवै त्यागेका छन्। उनले अव स्वतन्त्र रूपमा समाजसेवामा लाग्ने घोषणा गरेका छन् ।

शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक वक्तव्य जारी गर्दै भट्टले पार्टीभित्र बढ्दो गुटबन्दी, अवसरवाद, धनवाद, डनवाद र यौनवादप्रति तीव्र असन्तोष प्रकट गर्दै “अब एमालेमा रहन नसक्ने” बताएका हुन् ।


उनले लेखेका छन्, “इमानदार कार्यकर्ता र नेताको मूल्याङ्कन हुने परम्परा हराउँदै गएको छ । सत्ता र स्वार्थका लागि दलहरू चरम अवसरवादमा डुबेका छन् ।”
भट्टले २०७५ सालमा नेकपा एकीकरणपछि गोदावरी नगर कमिटी अध्यक्षको जिम्मेवारी सम्हालेका थिए । पार्टी विभाजनपछि पनि एमालेमै रहँदै २०७९ सालको स्थानीय तह निर्वाचनमा नगर प्रमुखका उम्मेदवार बनेका थिए ।
राजनीतिक यात्राको स्मरण गर्दै उनले लेखेका छन्, “बाल्यकालदेखि संघर्षपूर्ण जीवन बिताएँ । विद्यार्थी राजनीतिबाट सुरु भएको यात्रामा कैयौं पटक गिरफ्तारी, यातना र व्यक्तिगत क्षति सहनुप-यो, तर न्याय र परिवर्तनको विश्वास कहिल्यै हराएन ।”
भट्टले आफू अब स्वतन्त्र नागरिकको रूपमा समाज र देशका लागि निष्ठापूर्वक सेवा गर्ने बताएका छन् । उनका अनुसार देश अहिले “दुई ठूला दलको अपवित्र गठबन्धन र भ्रष्टाचारको दलदलमा फसेको” छ, र त्यसबाट निस्कन “नयाँ सोच र वैचारिक शुद्धताको आन्दोलन आवश्यक छ ।”
