शीतभण्डार नहुँदा किसान मर्कामा

कञ्चनपुर- कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका किसानहरू शीतभण्डार (कोल्डस्टोर) नहुँदा समस्यामा परेका छन् । जिल्लामा रहेको एकमात्र निजी शीतभण्डार बन्द भएपछि किसानले उत्पादन गरेका आलु, काउली, बन्दागोभीजस्ता तरकारीहरू राख्ने ठाउँ पाएका छैनन् ।

किसानहरूका अनुसार तरकारी राख्ने ठाउँ नहुँदा सस्तोमा बेच्न बाध्य हुनुपरेको छ । अगुवा किसान चेतराज चौधरीले भने, “अब तरकारी भण्डारणका लागि कैलाली लैजानुपर्छ, जसले ढुवानी खर्च बढाउँछ र बजारमा बेच्दा घाटा पर्छ ।”

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

अर्का किसान चामबहादुर डगौरले भने, “पहिले शीतभण्डार हुँदा आलुको बीउ सुरक्षित राख्न सजिलो थियो, अहिले त्यो सुविधा नहुँदा बाहिरबाट महँगो बीउ किन्नुपरेको छ ।”

शुक्लाफाँटा–३ का वडाध्यक्ष नरेन्द्रप्रसाद चौधरीले किसानलाई सहयोग गर्नका लागि पालिकास्तरमै मिनी शीतभण्डार बनाउनुपर्ने बताएका छन्। उनले “एक गाउँ, एक मिनी शीतभण्डार” योजना ल्याउने प्रतिबद्धता पनि जनाए ।

नगरपालिकाका कृषि शाखा प्रमुख करणसिंह बुढाऐरले भने, “शीतभण्डार नहुँदा किसानलाई समस्या भएको छ, त्यसका लागि सहकारी र निजी क्षेत्रसँग मिलेर मिनी शीतभण्डार बनाउने योजना अगाडि बढाउनुपर्छ।” नगरपालिकाले हरेक वर्ष शीतभण्डार बनाउनका लागि बजेट छुट्याए पनि स्थान नछनोटिँदा काम अघि बढ्न सकेको छैन।

शीतभण्डार नहुँदा किसानहरूलाई आफ्नो उत्पादन जोगाउन र उचित मूल्यमा बिक्री गर्न कठिनाइ भइरहेको छ । यदि पालिकाले मिनी शीतभण्डार बनायो भने किसानहरूलाई ठूलो राहत मिल्नेछ ।

Loading...