

बैतडी- उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले लिपुलेक व्यापारिक मार्ग बनाउने भारत–चीनको सहमतिप्रति नेपालको आपत्ति रहेको बताए ।



आज गृह जिल्ला बैतडीको मेलौलीमा गौरापर्वको शुभकामना आदानप्रदान तथा कार्यकर्ता भेटघाटका क्रममा मन्त्री भण्डारीले नेपाली भूमि लिपुलेकलाई व्यापारिक मार्ग बनाउने विषयमा चीन र भारतबीच भएको सहमतिका विषयमा आपत्ति रहेको बताए ।
“नेपालसँग कुनै परामर्श नगरी नेपाली भूमिमा व्यापारिक मार्ग बनाउने कुराको बारेमा कूटनीतिक रुपमा कुरा भइरहेको छ”, उनले भने, “नेपाली भूमि लिपुलेकलाई व्यापारिक मार्ग बनाउने विषयमा चीन र भारतबीच भएको सहमतिका विषयमा आपत्ति छ।


यो विषयमा चीन भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीज्यूले चिनियाँ राष्ट्रपति सी चिनफिङसँगको भेटमा पनि राख्नुभएको छ। यो विषयमा चीनले सहयोग गर्ने कुरामा विश्वास छ ।” चीन भ्रमणपश्चात् प्रधानमन्त्रीको भारत भ्रमण पनि रहने र भारतमा पनि यो विषय प्राथमिकतामा रहने भण्डारीले बताए । यस्तै उनले भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाकामा मोटरेबल पुल र पञ्चेश्वर परियोजना अगाडि बढ्ने तयारी भएको बताए ।
उनले भन्ने, “एकीकृत महाकाली सन्धि, पञ्चेश्वर परियोजनाका बारेमा प्रधानमन्त्रीले कुरा राख्नुभएको छ । सम्भवत यो वर्ष सन्धिलाई कार्यान्वयन गरेर अगाडि बढ्नेछौँ । जसका लागि भारतको पनि सहमति आवश्यक पर्दछ।” दोधारा चाँदनी सुक्खा बन्दरगाह, महाकाली करिडोरलगातयका विषय पनि प्राथमिकतामा रहेको मन्त्री भण्डारीले बताए । रासस