

कञ्चनपुर- कृष्णपुर नगरपालिका–१, दोमिल्लास्थित पुतलीबजार टोलमा गएराति जङ्गली हात्तीको आक्रमणबाट स्थानीय गणेशप्रसाद भाटको घर भत्किएको छ । हात्तीको बथानले घर भत्काउँदा भित्र रहेका चामल, पिठो, गहुँ, धानलगायत खाद्यान्न नष्ट भएको छ ।



सामुदायिक वनका सचिव दामोदर जोशीका अनुसार भदौ ४ गतेदेखि हात्ती बस्तीमा पस्न थालेका हुन् । हालसम्म २७ परिवारको १० बिघा जग्गामा लगाइएको धान र मकैबाली हात्तीले नष्ट गरेका छन् । त्यस्तै, सामुदायिक वनमा ३५ हेक्टरमा लगाइएको अम्रिसोखेती र १५ हेक्टर नेपियर घाँस समेत सखाप भएको छ ।


‘अम्रिसो बिक्री गरेर वार्षिक तीन देखि पाँच लाखसम्म आम्दानी हुँदै आएको थियो, तर हात्तीले पूरै खेतीमा क्षति पुर्याएको छ,’ सचिव जोशीले बताए ।
स्थानीयका अनुसार हात्ती नियन्त्रणका लागि राखिएको मेसवायर समेत हात्तीले भत्काएका छन् । बस्तीमा हात्ती पस्दा जनधनको क्षति हुनसक्ने भन्दै स्थानीयले तत्काल नियन्त्रणको माग गरेका छन् ।





