कैलालीका किसानले भित्र्याए चैते धान

भजनी- कैलालीको भजनी नगरपालिका–३ की सीतादेवी चौधरी यतिबेला धान काट्न व्यस्त छिन् । चैतमा रोपेको धान दोस्रो पटक काट्न उनी व्यस्त छिन्। पहिलो चरणमा जेठमै धान भित्र्याएकी सीता दोस्रो पटक धान भित्र्याउन पाउँदा खुसी छिन् ।

‘यसवर्ष वर्षा नभएपछि डुबान नहुँदा दोस्रोपटक धान फलेको हो’, उनी भन्छन्, ‘चैते धान लगाएका अधिकांश किसानलाई आजभोलि धान भित्र्याउन भ्याइनभ्याइ छ।’ किसानले पहिलोपटक काटेको धानको बोटमा नयाँ टुसा हालेर पुनः धानका बाला लाग्ने गर्छन्। अधिकांश किसान यतिबेला धान भित्र्याउन खेतमा व्यस्त देखिएका छन् ।

Navadurga sun
Godawari sandesh

यसवर्ष वर्षा कम भएपछि बाढी र डुबानमा पर्ने भजनीका फाँटमा पानी भरिएको छैन । तिनै खेतीयोग्य फाँटमा किसानले चैते धानखेती गर्दै आएका छन् । डुबान नभएपछि चैते धान लगाएका अधिकांश क्षेत्र धानका लटरम्म बाला देख्न सकिन्छ ।

खेतमा बढी पानी भएको ठाउँमा किसानले आफैँ धान काटेर भित्र्याउन लागेका छन् । पानी नभएको क्षेत्रका कतिपय किसानले मेसिन लगाएर धान काट्ने काम गर्दै आएका छन्। ‘कतिपयलाई पानी नपरेर तनाव भए पनि हामी खुसी छौं,’ सुनिता डगौरा भन्छिन्, ‘पानी नपरेकै कारण दोस्रोपटक धान भित्र्याउन पाएका छौँ । आजसम्म बाढी र डुबानका कारण विस्थापित भएर सडकमा आउनपरेको छैन।’

दोस्रो पटक भित्र्याउने धानमा किसानको लगानी शून्य हुन्छ । त्यसमा किसानले मलखाद, सिँचाइ, गोडमेलजस्ता कुनै काम गर्दैनन् । उत्पादनको माया मारेको ठाउँबाट उत्पादन हुन थालेपछि किसान उत्साहित देखिन्छन् ।

खासगरी डुबान भएन र हेरचाह राम्रो पाएको खण्डमा किसानले एकै बालीबाट दुईपटक लाभ लिने उनीहरूको भनाइ छ । अझै पहिलोपटकको जस्तो हेरचाह भए पहिलोपटकको आधा उत्पादन दोस्रोपटक गर्न सकिने भजनी–८ का किसान जयप्रसाद ढुङ्गाना बताउँछन् ।

Dadeldhura hospital

‘केही लगानी नगरेर किसानले अहिले प्रतिबिघा पाँचदेखि १० क्विन्टलसम्म धान उत्पादन गरिरहनुभएको छ,’ उनले भने,’अढाइ बिघामा मेरो पनि करिब १२ क्विन्टलभन्दा बढी धान उत्पादन भएको छ । जहाँ मेरो कुनै लगनी थिएन ।’

उत्पादनका हिसाबले बर्खे धानभन्दा चैते धान निकै उपयोगी छ । किसानले एक बिघामा ४० क्विन्टलसम्म चैते धान उत्पादन गर्न सक्छन् । दोस्रोपटक त्यसैअनुरूपको हेरचाह गर्न सक्यो र डुबान भएन भने २० क्विन्टलसम्म उत्पादन गर्न सकिने किसान बताउँछन्।

‘बर्खे धानभन्दा लागत चैते धानमा बढी छ । त्यसै अनुसारको उत्पादनले पनि किसान सन्तुष्ट छन्।’ सोही ठाउँका किसान बुद्धिराम थारू भन्छन्, ‘किसानले ढुक्कका साथ चैते धानखेती गर्ने भएका कारण पनि भजनी क्षेत्रमा यसको महत्त्व बढ्दै गएको छ।’

त्यतिमात्र नभई बाढी र डुबानको जोखिन नहुने भएपछि किसानले चैते धानमा लगानी गर्न कुनै कन्जुस्याइँ नगरेको पाइन्छ। बर्खे धान भित्र्याउने कुनै प्रत्याभूति नभएका किसानलाई चैते धान नै प्रमुख स्रोत हो भन्ने बुझाइ छ ।

‘बर्खे बालीमा लगानी गर्न हामी डराउँछौँ । किनभने लागत नै उठ्ने कुनै ग्यारेन्टी हुँदैन’, किसान कमला चौधरीले भने, ‘चैते धानमा लगानी गरेर पछुतो मान्नुपरेको छैन । बरु बिनालगानी उत्पादन दिइरहेको छ ।’

भजनीमा चैते धान विस्तार कार्यक्रममा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ धनगढीले सहयोग गर्दै आएको छ ।

चैते धान विस्तार जोन नै सञ्चालन गर्दै आएको कार्यान्वयन एकाइका प्रमुख गोविन्दराज जोशीले एकपटक काटेको धान अर्कोपटक फल्नु धेरै राम्रो कुरा भएको बताए । ‘हामीले यसको विषयमा खोजबिन गरेका छैनौँ ।

यसको अध्ययन गरेर वास्तविकता बुझ्न सकिने कुरा हो,’ उनले भने, ‘दोस्रोपटक सोचेजस्तो उत्पादन दिएको खण्डमा भविष्यका दिनमा किसानलाई थप प्रोत्साहन हुनेगरी कार्यक्रम सञ्चालन गर्न सकिन्छ ।’ रासस

Loading...