महेन्द्रनगर। कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० झलारीमा पूर्व-पश्चिम राजमार्ग अबरुद्ध गरिएको छ। झलारीका स्थानीय ललितराज जोशीको सवारी दुर्घटनामा मृत्यु भएपछि उनका आफन्तले आइतबार बिहानदेखि सडक अवरुद्ध गरेका हुन्।
घटनाको सत्यतथ्य अनुसन्धान गरी दोषीमाथि कारबाही र क्षतिपूर्तिको माग गर्दै पूर्व-पश्चिम राजमार्ग अबरुद्ध गरिएको मृतका भाई हेमराज जोशीले बताए। प्रहरीहरु नै सवार मोटरसाइकलले दाईलाई ठक्कर दिएको छ। उनीहरुको गाडीको कुनै कागजपत्र नभएको बुझिएको छ,’ उनले भने, ‘उनीहरुलाई कारबाही हुनुपर्छ, उचित क्षतिपूर्ति दिनुपर्छ।’

शुक्रबार बेदकोट नगरपालिका–१० त्रिपुरा मन्दिर नजिकै बा ६६प ८७८७ नम्बरको मोटरसाइकलले ललित सवार लुप्र ०३–००१ प २८५१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए। महाकाली प्रादेशिक अस्पतालमा उपचारका क्रममा उनको निधन भएका भएको थियो। घटनामा संलग्न २ जनालाई प्रहरीले पक्राउ गरेको छ।
मृतक जोशीकी श्रीमती लक्ष्मी ठगुन्नाले दिएको जाहेरीका आधारमा प्रहरी जवान सिद्धराज जोशी र अमित भट्टलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक सागर बोहराले बताए। ‘उनीहरुमाथि अनुसन्धान जारी छ, घटनामा संलग्नहरुलाई कानून अनुसार कारबाही गर्छौ,’ उनले भने।
