अत्तरिया- अत्तरियास्थित दुग्ध विकास संस्थान आयोजना कार्यालयमा कार्यालय सार्ने तयारीको विरोधमा स्थानीयले तालाबन्दी गरेपछि कार्यालयको आर्थिक तथा प्रशासनिक काम ठप्प भएको छ। तालाबन्दी भएको एक महिना बितिसक्दा पनि समस्या समाधान नहुँदा किसानहरू दुधको भुक्तानी नपाएर मर्कामा परेका छन्।




स्थानीयको विरोधपछि कार्यालयमा ८ जेठदेखि तालाबन्दी गरिएको हो। संस्थानले अत्तरियाको कार्यालय धनगढी सार्ने तयारी गरेपछि आन्दोलन चर्किएको हो। आन्दोलनकारीहरूले कार्यालयको लेखा र प्रशासन शाखामा तालाबन्दी गर्नुका साथै केही दिन कार्यालय प्रमुखलाई पनि प्रवेशमा रोक लगाएका थिए।





“भुक्तानी रोकिएकाले किसानको दिनहुँ फोन आउँछ,” कार्यालय प्रमुख निरन्जन भट्टराइले भने, “हालसम्म सवा करोड रुपैयाँ भुक्तानी दिनुपर्ने भए पनि लेखा शाखामा तालाबन्दी भएकाले दिन सकिएको छैन।”
संस्थानले मासिक ३८ हजार ६ सय रुपैयाँ भाडा तिर्दै आएको अत्तरियास्थित कृषिथोक बजारको भवन साँघुरो भएको भन्दै कारखानासहितको कार्यालय धनगढी उपमहानगरपालिका–१५, कनरी सार्ने तयारी गरेको थियो। त्यसका लागि उपमहानगरसँग २५ वर्षका लागि करिब डेढ बिगाहा जग्गा लिजमा लिइसकेको छ।


तर स्थानीय बासिन्दाले संस्थान अत्तरियाबाट सार्न नहुने भन्दै संघर्ष समिति गठन गरेर आन्दोलन थालेका छन्। उनीहरूको भनाइमा संस्थान सारिए स्थानीयको रोजगारी र दुध संकलन प्रणालीमा असर पर्नेछ।
संघर्ष समिति संयोजक लोकराज पाण्डे ‘आगो’ ले संस्थान सार्ने निर्णय फिर्ता नभएसम्म तालाबन्दी नखुल्ने बताए। “संस्थान अत्तरियामै राख्न लिखित प्रतिबद्धता आयो भने मात्रै तालाबन्दी खोलिन्छ,” उनले स्पष्ट पारे।
यता प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालको पहलमा दुग्ध विकास संस्थानका उपमहाप्रबन्धक राजेन्द्रप्रसाद अधिकारी अत्तरियामा आएर गोदावरी नगरपालिकाभित्र तीनवटा सम्भावित जग्गा अवलोकन गरेर फर्किएका छन्।
दुग्ध विकास संस्थान अत्तरियाले कैलाली, कञ्चनपुर, डडेल्धुरा र आलिताल क्षेत्रबाट दुध संकलन गर्दै आएको छ। संस्थानका अनुसार सुख्खायाममा दैनिक साढे ३ देखि ४ हजार लिटर र अन्य समयमा दैनिक करिब ७ हजार लिटर दुध संकलन हुँदै आएको छ। हाल भने दैनिक करिब ३,३०० लिटर दुध स्थानीय बजारमा खपत भइरहेको छ।
संस्थानले बिक्री नभएको दुध हेटौंडा र पोखराका कार्यालयमा पठाउँदै आएको छ भने कैलाली, डडेल्धुरा, डोटी, बाजुरा लगायतका जिल्लामा दुध, दही, मोही, लस्सी लगायत दुग्धजन्य पदार्थको आपूर्ति गर्दै आएको छ।




