कैलाली- नेकपा एमालेका केन्द्रीय सचिव तथा सुदूरपश्चिम इञ्चार्ज लेखराज भट्टले जननेता मदन भण्डारीको विचार र सिद्धान्तलाई व्यवहारमा उतार्न कार्यकर्तालाई आग्रह गरेका छन् ।




मदन भण्डारी फाउण्डेसन कैलालीद्वारा सुखडमा आयोजित “जनतासँग जबजको सान्दर्भिकता” विषयक विचार गोष्ठीमा बोल्दै नेता भट्टले पार्टीभित्रको एकता, सिद्धान्तको अनुशरण र स्वच्छ प्रतिस्पर्धामा जोड दिए ।





उनले भने, “हामीले जबज भनिरहेका छौं, तर त्यसअनुसार चलिरहेका छौं कि छैनौं भन्ने आत्मसमीक्षा आवश्यक छ।” नीति र नेतृत्वमा विवाद नरहे पनि व्यवहारमा देखिएको असहमति गम्भीर विश्लेषणको खाँचो भएको उनको भनाइ थियो।
भट्टले पार्टीभित्र गुट होइन, टिम निर्माणको आवश्यकता रहेको बताए। “कैलाली कमजोर हुँदा सिंगो सुदूरपश्चिम प्रभावित हुन्छ,” भन्दै उनले चेतावनी पनि दिए।


मदन भण्डारीलाई सम्झनु भनेको उनको विचार आत्मसात् गर्नु हो भन्दै उनले भित्तामा तस्बिर टाँस्ने मात्र नभई व्यवहारमा लागू गर्नुपर्ने बताए।
पूर्व माओवादीलाई ‘आयातित’ भन्ने आलोचनाप्रति प्रतिक्रिया दिँदै उनले भने, “हामी भारतबाट आएका होइनौं। जनयुद्ध आवश्यकता थियो, त्यसैले भएको हो।”
२०७९ को निर्वाचनमा पार्टीले अनुशासनका साथ मत पाएको भए कांग्रेसभन्दा ठूलो हुने दाबी गर्दै उनले आगामी निर्वाचनसम्म संगठनलाई एकतावद्ध बनाउनुपर्नेमा जोड दिए।
एमालेभित्र अनुशासन, विचार र नेतृत्वको सुदृढ चेन अफ कमाण्ड कायम रहनुपर्ने भन्दै उनले सहिदहरूको सम्मान गर्नुपर्ने धारणा राखे।
अन्त्यमा उनले मदन भण्डारी फाउण्डेसनलाई एनजिओ नभई विचार प्रचारको संस्थान भएको स्पष्ट पार्दै, आफू प्रधानमन्त्री फाउण्डेसनको संरक्षक रहेको जानकारी दिए।




