अत्तरिया- कैलालीका १३ वटा स्थानीय तहहरुका पालिकाहरुले आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । संवैधानिक व्यवस्था अनुसार असार १० गतेभित्र आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्नुपर्ने स्थानीय सरकार सञ्चालन ऐन २०७४ को व्यवस्था अनुसार कैलालीका १३ वटै स्थानीय तहहरुले नगर तथा गाउँ सभा आयोजना गरि नीति, कार्यक्रम तथा बजेट पेस गरेका हुन् ।
लम्कीचुहा नगरपालिकाले बिहीबार बजेट ल्याएको थियो । गोदावरी नगरपालिका र जानकी गाउँपालिकाले शुक्रबार, धनगढी उमहानगरपालिकाले शनिबार बजेट प्रस्तुत गरेको थियो ।

कैलारी गाउँपालिकाले आइतबार बजेट प्रस्तुत गरेको थियो । बर्दगोरिया र मोहन्याल गाउँपालिकाले सोमबार गाउँसभामा बजेट प्रस्तुत गरेका हुन् । त्यस्तै टीकापुर, भजनी, घोडाघोडी र गौरीगंगा नगरपालिका तथा जोशीपुर र चुरे गाउँपालिकाले मंगलबार बजेट प्रस्तुत गरेका छन् ।
धनगढी उपमहानगरको बजेट २ अर्ब ५६ करोडः
धनगढी उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि २ अर्ब ५६ करोड ४ लाख बराबरको बजेट ल्याएको छ । शनिबार बसेको १३ औं नगरसभामा नगर उप प्रमुख कन्दकला रानाले आगामी आर्थिक वर्षका लागि २ अर्ब ५६ करोड चार लाखको बजेट प्रस्तुत गरेकी हुन् । चालुतर्फ १ अर्ब ३८ करोड २५ लाख ५१ हजार र पूँजीगततर्फ १ अर्ब १८ करोड २९ लाख बजेट छुट्याइएको छ ।
बजेट स्रोत विवरण अनुसार उपमहानगरको आन्तरिक आय ५४ करोड ७९ लाख ६७ हजार १११ रुपैयाँ रहेको छ । राज्यबाट प्राप्त बाँडफाँड ५७ करोड ६० लाख ६२ हजार १४३ रुपैयाँ छ भने, संघीय सरकारबाट ९९ करोड ९ लाख रुपैयाँ र प्रदेश सरकारबाट ११ करोड २२ लाख ४१ हजार रुपैयाँ प्राप्त हुने उल्लेख गरिएको छ । साथै मौज्दात रकम ३३ करोड ३२ लाख ९५ हजार ७४६ रुपैयाँ छ ।
चालु आर्थिक वर्ष २०८१/०८२ मा उपमहानगरपालिकाले २ अर्ब १८ करोड ४२ लाख ३२ हजार २२० रुपैयाँको बजेट कार्यान्वयन गरेको थियो । जसअन्तर्गत जेठ मसान्तसम्म १ अर्ब ८१ करोड ५ लाख ८४ हजार ७२२ रुपैयाँ खर्च भइसकेको उपमहानगरले जनाएको छ ।
धनगढी उपमहानगरपालिकाले चालु आर्थिक वर्षको तुलनामा ३७ करोड ६२ लाख ३३ हजार ७८० ले बढि बजेट ल्याएको छ । यो अघिल्लो वर्षको तुलनामा १७ दशमलव २२ प्रतिशतले बढी हो र उपमहानगरपालिकाले ल्याएको बजेट शनिबारकै नगरसभाबाट सर्वसम्मत रूपले पारित गरिएको छ । यसअघि शनिबारकै नगरसभामा नगर प्रमुख गोपाल हमालले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।
उपमहानगरपालिकाले दलित अभियन्ता ‘टीकाराम पार्की छात्रवृत्ति कार्यक्रम’ सञ्चालन गर्ने भएको छ । दलित समुदायका छात्राहरूको शिक्षामा पहुँच वृद्वि, सामाजिक समावेशीकरण र लैङ्गिक समानता प्रवर्धन गर्न कक्षा ८ देखि कक्षा १० सम्म अध्ययनरत दलित छात्राहरूलाई प्रति छात्रा वार्षिक २ हजार सम्मको स्टेसनरी सामाग्री निःशुल्क उपलब्ध गराउनेछ ।
कक्षा ११/१२ देखि स्नातकसम्म विज्ञान, शिक्षा, कानुन र कृषि विषय अध्यनका लागि सहयोग गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । धनगढी उपमहानगरपालिकाले तेह्रौँ अधिवेशनमा ’हाम्रो धनगढी, हामी बनाउछौ’, “विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक, “आमा बचाउ कार्यक्रम, निःशुल्क अपाङ्गता सहायता सामग्री वितरण, “हाम्रो धनगढी, सफा धनगढी, “हरियाली प्रवर्धन कार्यक्रम, “शनिबारीय महिला उद्यम बजार, ‘उज्यालो धनगढी’ कार्यक्रमलाई नीति तथा कार्यक्रममा निरन्तरता दिइएको छ ।
यस्तै, ‘एक वडा, एक आर्थिक क्षेत्र’, सामाजिक विद्यालय शैक्षिक गुणस्तर सुधार कार्यक्रम, विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक, ‘हाम्रो धनगढी, सफा धनगढी’, हरियाली प्रवर्धन कार्यक्रम, सीप तथा रोजगार मेला, सन्ध्याकालिन बजार, ‘जहाँ खाली, त्यहाँ हरियाली, हर घडी, नगर प्रहरी, पढ्दै कमाउदै, ‘मेरो स्वास्थ्य, मेरो जिम्मेवारी’, हाम्रो धनगढी, हामी बनाउँछौँ,’ लगायत रहेका छन् ।
गोदावरी नगरपालिकाको बजेट १ अर्ब १८ करोडः
गोदावरी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि १ अर्ब १८ करोड बराबरको बजेट ल्याएको छ । नगरपालिकाको १५औँ नगर अधिवेशनमा नगर प्रमुख विरेन्द्र भट्टले १ अर्ब १८ करोड ५४ लाख ५६ हजार बराबरको बजेट सार्वजनिक गरेका हुन् ।
जसमा संघीय सरकारबाट आउने वित्तीय समानीकरणतर्फको बजेट १९ करोड ८० लाख, राजस्व बाँडफाटबाट १८ करोड ५९ लाख, समपूरक अनुदानतर्फ १ करोड ९३ लाख, विशेष अनुदानतर्फ ४ करोड ९ लाख, ससर्त अनुदानतर्फ ४१ करोड ७२ लाख रहेको छ ।
त्यस्तै प्रदेश सरकारबाट आउने वित्तीय समानीकरणतर्फको अनुदान १ करोड ८७ लाख, राजस्व बाँडफाटबाट ५९ लाख १ हजार, समपूरक अनुदानतर्फ ३० लाख, विशेष अनुदानतर्फ ६० लाख, सशर्त अनुदानतर्फ ३ करोड ५२ लाख, राजस्व बाँडफाटतर्फकै घरजग्गा रजिस्ट्रेसनबाट ६ करोड ८५ लाख रहेको नगर प्रमुख भट्टले बताए ।
त्यसबाहेक नगरको आन्तरिक स्रोतबाट १५ करोड ९ लाख ५५ हजार, विज्ञापन करबाट ३ लाख, वन रोयल्टीबाट ६ लाख र बैंक मौज्दातमा ३ करोड ५० लाख रहने अनुमान गरिएको छ ।
लम्कीचुहा नगरपालिकाको बजेट १ अर्ब २० करोडः
लम्कीचुहा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि १ अर्ब २० करोड ९९ लाख रुपैयाँको बजेट प्रस्तुत गरेको छ । बिहिबार नगरपालिकाको १५औँ नगरसभाको दोस्रो बैठकमा उपप्रमुख जुना चौधरीले चालु खर्चतर्फ ७६ करोड ७५ लाख र पुँजीगत खर्चतर्फ ४४ करोड २४ लाख रुपैयाँ विनियोजन गरी कुल बजेट सार्वजनिक गरेकी हुन् ।
उपप्रमुख चौधरीका अनुसार बजेट खर्चको स्रोतमा आन्तरिक आयबाट ४३ करोड ८७ लाख ६० हजार ८३२ रुपैयाँ, राजस्व बाँडफाँडबाट १८ करोड २१ लाख ६ हजार १६८ रुपैयाँ, संघीय सरकारबाट ५५ करोड २९ लाख रुपैयाँ र प्रदेश सरकारबाट ३ करोड ६१ लाख ६६ हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ । नगरपालिकाले समावेशी र पूर्वाधारमैत्री योजना मार्फत बजेट खर्च गर्ने बताइएको छ ।
जानकी गाउँपालिकाको बजेट ९१ करोडः
जानकी गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि ९१ करोड ३७ लाख ७ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ । शुक्रबार गाउँपालिकाको १६ औं गाउँसभा अधिवेशनको दोस्रो बैठकबाट गाउँपालिका उपाध्यक्ष लालमती कठरियाले चालुतर्फ ४५ करोड ८८ लाख ४३ हजार रुपैयाँ विनियोजन गरिएको छ । त्यसैगरी पुँजीगत तर्फ ४५ करोड ४८ लाख ६४ हजार रुपैयाँ विनियोजन गरिएको छ ।
गाउँपालिकाले आउने आर्थिक वर्षमा विनियोजन भएको बजेट मध्ये चालुतर्फ ४३ करोड ५८ लाख ८६ हजार विनियोजन हुँदा वडा समितिलाई १ करोड ३ लाख ६ हजार रुपैयाँ विनियोजन भएको छ भने विषयगत शाखालाई १ करोड २६ लाख ५१ हजार रुपैयाँ छुट्याइएको छ । त्यसैगरी पुँजीगततर्फ गाउँपालिकालाई ४३ करोड ८१ लाख ७० हजार रुपैयाँ छुट्याइएको छ भने वडा कार्यालयलाई १ करोड ६६ लाख ९४ हजार विनियोजन गरिएको छ ।
आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये आन्तरिक स्रोतमा ३ करोड १६ लाख ३१ हजार २ सय ५० रुपैयाँ अनुमान गरेको छ । त्यसैगरी संघीय समानिकरण अनुदान बापत १३ करोड ८५ लाख, संघीय राजश्व बाँडफाँडबाट १२ करोड ३९ लाख ८१ हजार ४ सय ४३ रुपैयाँ, संघीय शसर्त अनुदान तर्फ ४६ करोड ३ लाख, संघीय विशेष अनुदान तर्फ ९२ लाख, संघीय समपुरक अनुदान बापत ३ करोड ३३ लाख प्राप्त हुने अनुमान बजेटमा गरिएको छ ।
त्यसैगरी प्रदेश समानीकरण अनुदानबाट १ करोड ३३ लाख २५ हजार, प्रदेश राजश्व बाँडफाँडबाट २ करोड २३ लाख ९५ हजार, प्रदेश शसर्त अनुदानबाट ३ करोड २० लाख, प्रदेश विशेष अनुदानबाट ७५ लाख, प्रदेश समपुरक अनुदानबाट ४५ लाख आय अनुमान गरिएको छ । त्यो सँगै चालू आर्थिक वर्षको मसान्तसम्म खर्च नभई ३ करोड ७० लाख ७४ हजार ३ सय ७ बचत हुने अनुमान गरिएको छ ।
आउने आर्थिक वर्षमा गाउँपालिकाले प्रशासनिक भवन निर्माणको लागि ५ करोड बजेट विनियोजन गरेको छ । जुन भवनको ठेक्का भएर सम्झौताको काम समेत भैसकेको छ । त्यसैगरी आउने आर्थिक वर्षमा गाउँपालिकाले शव वहान खरिदका लागि ३० लाख बजेट विनियोजन गरेको छ । गाउँपालिकाले बालमैत्री स्थानीय शासन कार्यक्रम अवलम्बन गरी आवश्यक कार्यक्रम सञ्चालनका लागि ३७ लाख २५ हजार बजेट विनियोजन भएको छ भने उत्पादनमा आधारित प्रोत्साहन प्रबन्ध मिलाउन खाद्यान्न बालीको उत्पादनमा आधारित अनुदान कार्यक्रमका लागि १२ लाख ३० हजार बजेट विनियोजन गरिएको छ ।
कैलारी गाउँपालिकाको बजेट ७२ करोडः
कैलारी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ७२ करोड २५ लाख रुपियाँको वार्षिक बजेट सार्वजनिक गरेको छ । उपाध्यक्ष भगवतीकुमारी चौधरीले आइतबार गाउँ सभामा बजेट प्रस्तुत गरिन । कैलारीले कार्यालय सञ्चालनतर्फ ११ करोड ५४ लाख, समपूरक कोषतर्फ पाँच करोड २५ लाख, बाँकी भुक्तानीका लागि २ करोड ५० लाख, भूमि व्यवस्थापनतर्फ ६० लाख, अध्यक्ष कप रनिङ प्रतियोगिताका लागि २५ लाख बजेट विनियोजन गरेको छ ।
यस्तै, विद्युतीय सुशासन तथा सूचना प्रविधि कार्यक्रमका लागि सात लाख, उपाध्यक्ष समावेशी कार्यक्रमका लागि १० लाख र अध्यक्ष रोजगार कार्यक्रमका लागि १० लाख रुपियाँ बजेट छुट्टयाइएको छ । यसैगरी, ९ वटै वडालाई ६० लाखका दरले कुल ५ करोड ४० लाख रुपियाँ बजेट विनियोजन गरिएको छ । आन्तरिक आय २ करोड ५७ लाख, चालु आर्थिक वर्षको खर्च हुन बाँकी ४० लाख रुपियाँ रहेको छ ।
सङ्घीय सरकारको समानीकरण अनुदान १४ करोड १८ लाख, राजस्व बाँडफाँट १२ करोड ८२ लाख, सशर्त अनुदान ३० करोड ५७ लाख रुपियाँ रहेको छ । यस्तै, विशेष अनुदान ५४ लाख, समपूरक अनुदान २ करोड ६५ लाख रुपियाँ गरेर सङ्घबाट जम्मा ६० करोड ७६ लाख रुपियाँ रहेको छ ।
प्रदेश सरकारको समानीकरण अनुदान १ करोड ४३ लाख, राजस्व बाँडफाँट ४३ लाख, समपूरक अनुदान ५५ लाख र विशेष अनुदान ३ करोड २६ लाख रुपियाँ रहेको छ । यसैगरी, गैरसरकारी संस्थाको कार्यक्रम बजेट ५ करोड २४ लाख रुपियाँ रहेको जनाइएको छ ।
बर्दगोरिया गाउँपालिकाको बजेट १ अर्ब २ करोडः
बर्दगोरिया गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि १ अर्ब २ करोड ९१ लाख रुपैयाँको वार्षिक बजेट सार्वजनिक गरेको छ ।
सोमबार गाउँपालिकाको १६ औँ गाउँ सभा मार्फत उपाध्यक्ष गणेशराज गिरी (लालदीप) ले वार्षिक बजेट प्रस्तुत गरेका हुन् । चालु खर्चतर्फ ३४ करोड ३९ लाख र पुँजीगत खर्चतर्फ ४१ करोड ५२ लाख विनियोजन गरिएको छ ।
यस्तै सामाजिक सुरक्षातर्फ २७ करोड खर्च हुने अनुमान गाउँपालिकाले गरेको छ । ३ करोड ६९ लाख ५३ हजार ५ सय ८१ रुपैयाँ आन्तरिक आय सङ्कलन हुने तथा राजस्व बाँडफाँडबाट १० करोड ७८ लाख ९९ हजार ४ सय १९ आम्दानी हुने अनुमान गाउँपालिकाको छ ।
यस्तै अन्तर सरकार वित्तीय हस्तान्तरण (सङ्घीय सरकार) बाट ५२ करोड २७ लाख प्राप्त भएको छ । भने अन्तर सरकार वित्तीय हस्तान्तरण (प्रदेश सरकार) बाट ५ करोड ७० लाख ४७ हजार गाउँपालिकालाई प्राप्त भएको छ ।
गत आर्थिक वर्ष २०८१/०८२ बाट जिम्मेवारी सरी आएको ३ करोड ४५ लाख छ भने सामाजिक सुरक्षाका लागि २७ करोड आम्दानी हुने जनाइएको छ ।
मोहन्याल गाउँपालिकाको बजेट साढे ६१ करोडः
मोहन्याल गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ६१ करोड ५० लाख रुपैयाँको वार्षिक बजेट सार्वजनिक गरेको छ । सोमबार बसेको गाउँसभामा उपाध्यक्ष कमल बहादुर साउँदले बार्षिक बजेट प्रस्तुत गरेका हुन् । उनले पूर्वाधार विकासका लागि ६५ लाख ४४ हजार रुपैयाँ विनियोजन गरेको बताए ।
टीकापुर नगरपालिकाको बजेट ९३ करोड बडीः
टीकापुर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ९३ करोड ६७ लाख ९७ हजार रुपैयाँको वार्षिक बजेट सार्वजनिक गरेको छ । मंगलबार बसेको नगरसभामा जेष्ठ सदस्य रामबहादुर नागार्जीले बार्षिक बजेट प्रस्तुत गरेका हुन् । उनले नगरपालिका र वडाहरुको साधारणतर्फ १८ करोड र नगरपालिकाको प्राथमिकता प्राप्त चालु तथा पूँजीगत योजनामा २९ करोड ९८ लाख ९३ हजार १ सय २७ रुपैयाँ विनियोजन गरेका जनाएका छन् ।
उनले समपुरक, विशेष तथा सशर्तबाहेक नगरपालिकाको कुल पूँजीगत खर्च २५ करोड ३ लाख र चालुतर्फ ३० करोड ५० खाल हुने अनुमान गरिएको छ । पूँजीगत रकममध्ये वडाको लागि ५ करोड, समपुरकमा ३ करोड ६२ लाख, नगर गौरवका योजना कार्यान्वयनका लागि प्रत्येक वडाको लागि एउटा सडक कालोपत्रे गर्न ७ करोड २० लाख र विषयगत शाखाको लागि २ करोड ३५ लाख रुपैयाँ विनियोजन गरेको उनले जानकारी दिए ।
भजनी नगरपालिकाको बजेट ६८ करोडः
भजनी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ६८ करोड ४३ लाख ६५ हजार ३ सय ४१ रुपैयाँको वार्षिक बजेट सार्वजनिक गरेको छ । मंगलबार बसेको नगरसभामा नगर उपप्रमुख राजु तिरुवाले बार्षिक बजेट प्रस्तुत गरेका हुन् ।
घोडाघोडी नगरपालिकाको बजेट १ अर्ब १ करोडः
घोडाघोडी नगरपालिकाले १ अर्ब १ करोड ४० लाखको बजेट सार्वजनिक गरेको छ । मंगलबार नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ को २१ औँ नगर सभामा बजेट सार्वजनिक गरिएको हो । बजेट तथा कार्यक्रम तर्जुमा समितिका संयोजक तथा उपप्रमुख गुलिया कुमारी चौधरीले आर्थिक वर्ष २०८२/०८३ लागी १ अर्ब करोड १ करोड ४० लाख २२ हजार रुपियाँको बजेट प्रस्तुत गरेकी छन् ।
सङ्घ, प्रदेश र नगरपालिकाको प्रस्तुत कुल बजेटमध्ये नगरपालिकाको आन्तरिक स्रोत आय १४ करोड ८१ लाख ३२ हजार रहेको छ । आयतर्फ सङ्घीय सरकारबाट प्राप्त हुने समानीकरण अनुदान १९ करोड ३ लाख, समपूरक अनुदान २ करोड २५ लाख, विशेष अनुदान २ करोड ७४ लाख, सशर्त अनुदान ३ करोड ९० लाख ३० हजार र राजस्व बाँडफाँड १ करोड ३६ लाख ६१ हजार ३८ रुपैयाँ रहेको छ ।
त्यस्तै प्रदेश सरकारबाट समानीकरण अनुदान २ करोड २५ लाख, समपूरक अनुदान ३ करोड ३७ लाख ५० हजार, विशेष अनुदान ७५ लाख, सशर्त अनुदान ६० लाख र राजस्व बाँडफाँड ५८ लाख ४३ हजार रुपियाँ प्राप्त हुने जनाइएको छ । चालु आर्थिक वर्षको भन्दा यो वर्ष करिब ३ करोड बढी बजेट आगामी वर्षको लागी सार्वजनिक भएको छ ।
गौरीगंगा नगरपालिकाको बजेट १ अर्ब १ करोडः
गौरीगंगा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि १ अर्ब १ करोड ७६ लाख ३३ हजार रुपैयाँको बजेट सार्वजनिक गरिएको छ । मंगलबार नगरसभाको १८ औँ अधिवेशनमा उप प्रमुख भोजबहादुर बमले बजेट सार्वजनिक गरेका हुन्।
उप प्रमुख बमले प्रस्तुत गरेको बजेटमा आयतर्फ संघीय समानीकरण अनुदान १५ करोड ९४ लाख, संघीय सर्शत अनुदान चालुतर्फ २३ करोड ३६ लाख र पुँजीगत १ करोड ४१ लाख रुपैयाँ प्रस्ताव गरिएको छ ।
त्यस्तैगरी संघीय समपूरक अनुदान पूँजीगत ७३ लाख, संघीय विशेष अनुदान पूँजीगत ४० लाख, प्रदेश समानीकरण अनुदान एक करोड ५० लाख ७१ हजार र प्रदेश सर्शत अनुदान चालु र पुँजिगत ८५ लाख, प्रदेश समपूरक अनुदान र पुँजिगत १ करोड ७ लाख रहेको उपप्रमुख बमले प्रस्तुत गरिएको बजेटमा उल्लेख गरिएको छ ।
त्यस्तैगरी प्रदेश विशेष अनुदान पूँजीगत ७५ लाख, मूल्यअभिवृधिकर अन्तशुल्क १४ करोड ८६ लाख १९ हजार रुपैयाँ प्रस्ताव गरिएको छ । प्रस्तुत बजेटमा वन रोयल्टी १० लाख, घर जग्गा रजिष्ट्रेशन दस्तुर २ करोड ८० लाख रुपैयाँ, सवारी साधन कर ६३ लाख ४८ हजार रुपैयाँ प्रस्ताव गरिएको छ । त्यस्तैगरी विज्ञापन करमा ३ लाख, मनोरञ्जन करमा पनि ३ लाख, आन्तरिक राजस्व अन्तरगत ७ करोड ९ लाख ९५ हजार र सामाजिक सुरक्षा तथा संरक्षण कार्यक्रम अन्तरगत २७ करोड ८९ लाख उपप्रमुख बमले प्रस्तुत गरिएको बजेटमा प्रस्ताव गरिएको छ ।
यस्तै व्ययतर्फ संघीय सरकारबाट हस्तान्तरित सशर्त चालु कार्यक्रममा २३ करोड ६६ लाख विनियोजन गरिएको छ । संघीय सरकारबाट हस्तान्तरित सर्शत पूँजीगत कार्यक्रममा १ करोड ४१ लाख रुपैयाँ विनियोजन गरिएको छ । प्रस्तुत बजेटमा सामाजिक सुरक्षा तथा संरक्षण कार्यक्रममा १७ करोड ८९ लाख रुपैयाँ छुट्याएको छ । त्यस्तैगरी प्रशासनिक खर्च तर्फ १५ करोड ७१ लाख ४० हजार रुपैयाँ जनस्वास्थ्य प्रवर्द्धनमा १ करोड ६६ लाख, योजना तथा पूर्वाधार विकासमा ३ करोड ७८ लाख ४३ हजार विनियोजन गरिएको छ ।
प्रस्तुत बजेटमा नगरका ११ वडा कार्यालयका लागि ९ करोड २२ लाख, नगर समपूरक कोषमा ३ करोड, शिक्षा युवा तथा खेलकुद विकासमा ७ करोड १० लाख र विपद् व्यवस्थापनमा एक करोड रुपैयाँ विनियोजन गरिएको छ । नगरसभामा प्रस्तुत गरिएको बजेटमा शिक्षा, खेलकुद, विपद् व्यवस्थापन र पूर्वाधार विकास निर्माण कार्यलाई प्राथमिकता दिएको छ । त्यस्तैगरी कृषि तथा पशुपन्छी, स्थानीय कला संस्कृति भाषा तथा साहित्यको प्रवर्द्धनमा पनि नगरले विशेष प्राथमिकता राखेको छ । यस अघि मंगलबार नै नगर प्रमुख देवीदत्त कडेलले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । उनले प्रस्तुत गरेको नीति कार्यक्रममा सभाबाट सर्वसम्मत रुपमा पारित गरिएको थियो ।
चुरे गाउँपालिकाको बजेट ५२ करोडः
चुरे गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ५२ करोड ८७ लाख बराबरको बजेट ल्याएको छ । मंगलबार बसेको १७ औँ अधिवेशनमा गाउँपालिकाले ५२ करोड ८७ लाख ९७ हजार बराबरको बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाका अध्यक्ष चक्रबहादुर बोगटीले प्रस्तुत गरेको वार्षिक नीति तथा कार्यक्रमका आधारमा उपाध्यक्ष धनादेवी थापाले बजेट प्रस्तुत गरेकी हुन् ।
चालु खर्चतर्फ ३७ करोड २२ लाख ५८ हजार पाँच सय अर्थात् ७० दशमलव ०४ प्रतिशत र पुँजीगततर्फ १५ करोड ६५ लाख ३८ हजार पाँच सय अर्थात्२९ दशमलव ६ प्रतिशत विनियोजन गरिएको छ । खर्च ब्यहोर्ने स्रोतमा सङ्घीय सरकारबाट समानीकरण अनुदान वापत १० करोड ४४ लाख, संघीय राजस्व बाँडफाँडबाट प्राप्त हुने १४ करोड ६८ लाख, संघीय समपूरकबाट ७१ लाख, सङ्घीय सर्शत अनुदानबाट २१ करोड ५४ लाख, संघीय विशेष अनुदानबाट ८० लाख प्राप्त हुने बजेट वक्तव्यमा उल्लेख गरिएको छ ।
प्रदेश सरकारको राजस्व बाँडफाँड वापत ४१ लाख ५३ हजार, प्रदेश समानीकरण अनुदान ८४ लाख ९४ हजार, प्रदेश सर्शत अनुदान वापत ५५ लाख, समपूरक अनुदान एक करोड, आन्तरिक राजस्व बाँडफाँडबाट १ करोड ९४ लाख ५० हजार र चालु वर्षको मौज्दात ७५ लाख रहने अनुमान गरिएको छ ।
जोशीपुर गाउँपालिकाको बजेट ८३ करोडः
जोशीपुर गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ८३ करोड ८६ लाख ५९ हजार १५४ रुपैयाँ बराबरको बजेट ल्याएको छ । मंगलबार बसेको १४ औँ अधिवेशनमा गाउँपालिकाले ८३ करोड ८६ लाख ५९ हजार १५४ बराबरको बजेट सार्वजनिक गरेको हो । गाउँपालिका उपाध्यक्ष संघीय सरकारबाट समानीकरण अनुदान चालुतर्फ १६ करोड २३ लाख, राजश्व बाँडफाँड ९ करोड २८ लाख ९७ हजार, सशर्त अनुदान चालुतर्फ १६ करोड ६६ लाख, पूँजीगततर्फ ३५ लाख ३९ हजार, विशेष अनुदान ५० लाख प्राप्त हुने बताइएको छ ।
