डडेल्धुरामा बसपार्क निर्माण सुरु, १० करोड लागत

डडेल्धुरा- डडेल्धुराको अमरगढी नगरपालिका–८ डकलेमा आधुनिक बसपार्क निर्माण कार्य सुरु गरिएको छ। शनिबार नगरप्रमुख डिल्लीराज जोशीले शिलान्यास गर्दै बहुप्रतीक्षित बसपार्क निर्माणको औपचारिक सुरुआत गरे।

संघीय सहरी विकास तथा भवन निर्माण कार्यालय कैलालीमार्फत १० करोड ३० लाख १६ हजार रुपैयाँको लागतमा बसपार्क निर्माण हुन लागेको हो। निर्माण जिम्मा मालिका–कालिका–युपी जेभीले पाएको छ। जेठ ३२ गते ठेक्का सम्झौता भएको निर्माण कार्य १७ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य छ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

डकलेमा बसपार्क निर्माणको योजना २०६७ सालमै सुरु भए पनि विभिन्न कारणले काम अघि बढ्न सकेको थिएन। सरौलीका घाणा सामुदायिक वनको वातावरणीय प्रभाव मूल्याङ्कन नगरी बोलपत्र आह्वान गरिएकोले ठेक्का सम्झौता तत्काल हुन सकेको थिएन। २०७३ सालमै सामुदायिक वनले सहमति दिए पनि बजेट अभाव, रुख कटानी लगायतका कारण बसपार्क अलपत्र परेको थियो।

नगरप्रमुख जोशीका अनुसार चैत महिनामा रुख कटानी बाफतको झण्डै १ करोड ११ लाख रुपैयाँ नेपाल सरकारको वन विकास कोषमा जम्मा गरिएपछि रुख कटान सम्पन्न गरी निर्माण कार्य सुरु गरिएको हो।

४० रोपनी क्षेत्रफलमा निर्माण हुने बसपार्कमा टर्मिनल भवन, सपिङ कम्प्लेक्स, पार्किङ, टिकट काउन्टर, शौचालय लगायत संरचना निर्माण गरिनेछ। महाकाली राजमार्ग छेउमा निर्माण भइरहेको यो बसपार्कले डडेल्धुरा र आसपासका यात्रुलाई सहज र व्यवस्थित सेवा प्रदान गर्ने अपेक्षा गरिएको छ।

Loading...