अत्तरिया- कैलालीको चुरे गाउँपालिका ६ बयलामा अवस्थित मेलकट्टेश्वर माध्यमिक विद्यालयले नव वर्ष २०८२ को अवसर पारेर शैक्षिक स्मारिका ‘मेलकट्टेश्वर दर्पण’ आज एक भव्य समारोहका बीच विद्यालय प्राङ्गणमा लोकार्पण गरिएको छ ।
समारोहमा सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति तथा कैलाली जनपुस्तकालयका अध्यक्ष डा. टि.एन. जोशी, चुरे गाउँपालिकाका अध्यक्ष चक्रबहादुर बोगटी र उपाध्यक्ष धनादेबी थापाले संयुक्त रूपमा स्मारिकाको लोकार्पण गर्नु भएको हो ।

विद्यालयले पहिलो पटक प्रकाशित गरेको यस शैक्षिक स्मारिकामा विद्यालयका ऐतिहासिक तथ्याङ्क, शैक्षिक गतिविधिहरू तथा विद्यार्थी र विभिन्न लेखक–सर्जकका साहित्यिक रचनाहरू समावेश गरिएको छ । प्रधानाध्यापक तथा स्मारिकाका प्रधान सम्पादक विनोदबहादुर सिंहले स्मारिका प्रकाशनले विद्यार्थीहरूका अन्तरनिहित प्रतिभा उजागर गर्नुका साथै साहित्यिक रचनामार्फत पठन संस्कार विकासमा टेवा पुर्याउने विश्वास व्यक्त गरे ।
समारोहको अवसर पारेर विद्यालयले विभिन्न व्यक्तिहरूलाई दोसल्ला अर्पण गरी सम्मानसमेत गरेको छ । चुरे क्षेत्रको सामाजिक, भौतिक तथा शैक्षिक विकासमा योगदान पुर्याएको भन्दै गाउँपालिकाका अध्यक्ष बोगटी र उपाध्यक्ष थापालाई विशेष सम्मान गरिएको थियो ।
त्यसैगरी, विद्यालयका पूर्व सचिव एवं व्यवस्थापन समिति अध्यक्षहरू स्व. दानबहादुर खत्री, स्व. नरबहादुर खत्री, स्व. देवदत्त गौतम, स्व. गङ्गाप्रसाद आचार्य, स्व. चन्द्रबहादुर अधिकारी, स्व. भीमबहादुर खत्री र टिकादत्त उपाध्यायलाई मरणोपरान्त उहाँहरूका उत्तराधिकारी मार्फत दोसल्ला अर्पण गरी सम्मान गरिएको हो ।
विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्षहरू दीपक शाही, शालिग्राम सापकोटा, दामोदर रिजाल, हरिशंकरनाथ योगी, प्रेमबहादुर सुर्जामगर र प्रेमप्रसाद गौतमलाई समेत सम्मान गरिएको थियो ।
त्यसैगरी, विद्यालयका पूर्व विद्यार्थी तथा कैलाली बहुमुखी क्याम्पसका सहप्राध्यापक डा. शिवप्रसाद सापकोटा र डा. यादवबहादुर कडाललाई शैक्षिक क्षेत्रको योगदानको कदर गर्दै दोसल्ला सहित सम्मान गरिएको हो । मिस कल्चर वर्ल्ड इन्टरनेशनल २०२४ की ग्राण्ड विनर तथा विद्यालयकी एसएलसी २०६४ ब्याचकी पूर्व विद्यार्थी माया लामालाई पनि विशेष सम्मान प्रदान गरिएको थियो।
बैशाख र जेठ महिनामा सम्पन्न अतिरिक्त क्रियाकलापमा उत्कृष्ट प्रदर्शन गरेका विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो। कार्यक्रममा विद्यार्थीहरूले विविध सांस्कृतिक प्रस्तुति समेत प्रस्तुत गरेका थिए ।
समारोह विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दानबहादुर महराको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि डा. टि.एन. जोशी रहनु भएको थियो । त्यस्तै विशिष्ट अतिथिहरूमा अध्यक्ष चक्रबहादुर बोगटी, उपाध्यक्ष धनादेबी थापा, समाजसेवी हरिशंकरनाथ योगी, डा. यादवबहादुर कडाल र डा. शिवप्रसाद सापकोटा रहनु भएको थियो ।
कक्षा १० की छात्रा सोनम कडालले स्वागत मन्तव्य राखेकी थिइन् भने कार्यक्रमको सञ्चालन शिक्षक सुभाषचन्द्र भण्डारीले गर्नुभएको थियो। विद्यालयका प्रधानाध्यापक विनोदबहादुर सिंहले धन्यवाद मन्तव्य व्यक्त गर्नु भएको थियो ।
वडा अध्यक्ष प्रेमबहादुर साउँद, समाजसेवी हरिशंकरनाथ योगी, दीपक शाही, दामोदर रिजाल, लोकबहादुर सारु, प्रेमप्रसाद गौतम, किसनसिंह साउँद, हेम शाह, टेकबहादुर शाह, नरबहादुर तामाङ र टिकाराम आचार्य लगायतले मन्तव्य राख्नु भएको थियो ।
समारोहकै अवसरमा विद्यालयका तर्फबाट अध्यक्ष बोगटी, उपाध्यक्ष थापा र वडा अध्यक्ष साउँदलाई औपचारिक रूपमा विद्यालयका मागहरु लिखित रूपमा प्रस्तुत गरिएको थियो । तीनै जना जनप्रतिनिधिले विद्यालयको आवश्यकता अनुसार सम्भव भएसम्म बजेट व्यवस्था गर्ने प्रतिबद्धता जनाउनु भएको थियो ।
कार्यक्रममा उपस्थित अभिभावक, लेखक, विद्यार्थी तथा अन्य अतिथिहरूले स्मारिकाको खुलेर प्रशंसा गर्नुभएको थियो । स्मारिकामा आफ्ना रचना प्रकाशित भएको पाउँदा विद्यार्थीहरू उत्साहित देखिएका थिए । आगामी दिनमा यस्ता सिर्जनात्मक प्रयासहरूलाई निरन्तरता दिनुपर्ने सुझाव समेत अभिभावकहरूले दिएका थिए ।
