चुरे संरक्षणमा जोड दिँदै सरोकारवाला समन्वय बैठक सम्पन्न
नाङ्गो डाँडामा वृक्षारोपण गर्नुपर्ने आवश्यकता : अध्यक्ष बोगटी





अत्तरिया- चुरे क्षेत्रको वन संरक्षण र वातावरणीय संकट समाधानका लागि डिभिजन वन कार्यालय धनगढीको आयोजनामा एक दिने सरोकारवाला समन्वय बैठक चुरे गाउँपालिका सम्पन्न भएको छ । बैठकमा चुरे संरक्षणमा सामूहिक पहलको आवश्यकता रहेकोमा सहभागीहरूले जोड दिएका छन् ।



कार्यक्रमको सभापतित्व चुरे गाउँपालिकाका अध्यक्ष चक्र बहादुर बोगटीले गर्नु भएको थियो । अध्यक्ष बोगटीले चुरे क्षेत्रको जटिल भौगोलिक स्वरूप र वन विनाशका कारण उत्पन्न जोखिमबारे चर्चा गर्दै भने, “चुरे क्षेत्रमा सल्लोका वन धेरै छन्, जसले गर्दा डढेलोको जोखिम अत्यन्तै उच्च छ । मानिसहरूले चुरोट सल्काएर फाल्दा थप आगलागीको सम्भावना बढ्ने खतरा छ ।”



नाङ्गो डाँडाहरूमा वृक्षारोपण, सामुदायिक वनहरूलाई नमुना वनको रूपमा विकास, र वन पैदावार तथा जडीबुटीको वैज्ञानिक सदुपयोग गर्नुपर्नेमा पनि जोड दिए । “चुरे बचाउन चुरे बासी सबैको ध्यान जान जरुरी छ,” बाेगटीले भने ।
विशिष्ट अतिथिको रूपमा गाउँपालिका उपाध्यक्ष धना देवी थापा सहभागी रहेकी थिइन् । त्यस्तै, प्रमुख प्रशासकीय अधिकृत बिबिराज सोति, वडा नं. ३ का वडा अध्यक्ष खगेन्द्र खडायत, वडा नं. ६ का वडाअध्यक्ष प्रेम बहादुर साउद, इलाका प्रहरी कार्यालय फल्टुडेका प्रमुख दिपक बिष्ट, तथा सहजपुर सब-डिभिजन प्रमुख श्याम सुन्दर माझी लगायतको उपस्थिति रहेको कार्यक्रमको सञ्चालन दयानन्द जोशीले गरेका थिए ।



