कैलाली- कैलालीको घोडाघोडीमा सुन्दर सुदूरपश्चिम यातायात प्रालिको आयोजनामा सवारी चालकहरूलाई लक्षित गरी ‘सवारी दुर्घटना न्यूनिकरण’ सम्बन्धी एक दिने जनचेतनामूलक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन घोडाघोडी नगरपालिकाका नगरप्रमुख खडक रावतले गरेका हुन् ।




नगरप्रमुख रावतले सवारी दुर्घटनामा चालकको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै, सडकको संरचना, लेन अनुशासनको उल्लंघन, र छाडा चौपायाका कारण दुर्घटना हुने भएकाले सम्बन्धित सबै पक्षको ध्यान आवश्यक रहेको बताए । उनले घोडाघोडी नगरपालिका सडक सुरक्षामा सदैव सक्रिय रहने प्रतिबद्धता व्यक्त गरे ।







कार्यक्रम प्रालिका अध्यक्ष पदमराज सापकोटाको अध्यक्षतामा सम्पन्न भएको थियो। उनले ‘स्तरिय सेवा हाम्रो चाहना, सुरक्षित यात्रा हाम्रो कामना’ भन्ने मूल नारालाई आत्मसात गर्दै प्रालिले नियमित रूपमा चालक, यात्रु, र सडक प्रयोगकर्तालाई लक्षित गरी दुर्घटना न्यूनीकरणसम्बन्धी प्रशिक्षण दिइरहेको बताए।
सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डिआइजी डम्बर बहादुर विकले दुर्घटना न्यूनीकरणका लागि सवारी धनी र चालकले सवारीको नियमित जाँच तथा सडक नियमको पालना गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा नेपाल प्रहरी, यातायात व्यवसायी संघ, मजदुर संगठनलगायत विभिन्न निकायका प्रतिनिधिहरूले सहभागिता जनाउँदै सडक सुरक्षा र दुर्घटना न्यूनिकरणबारे सहभागीलाई जानकारी गराएका थिए । कार्यक्रमको सञ्चालन महासचिव सुरेन्द्र बोहराले गरेका थिए । साथै, निशुल्क स्वास्थ्य परीक्षण समेत गरिएको थियो ।




