चौपायामा खोरेतरोग सार्ने ‘सेरोटाइप ए’ भाइरस फेला

कञ्चनपुर- कञ्चनपुरका दुई पालिकाका घरपालुवा चौपायामा खोरेत रोग सार्ने ‘सेरोटाइप ए’ भाइरस फेला परेको छ । शुक्लाफाँटा नगरपालिका र लालझाडी गाउँपालिकामा चौपायामा खोरेत सार्ने भाइरसको नमुना जाँच गर्दा सङ्क्रमण फेला परेको हो ।

तीन वर्षपछि खोरेत सार्ने ‘सेरोटाइप ए’ को भाइरस फेला परेको पशुपन्छी रोग अन्वेषण प्रयोगशाला धनगढीका वरिष्ठ पशु चिकित्सक नरेशप्रसाद जोशीले बताए । तीन वर्ष अघिसम्म चौपायामा खोरेत सार्ने यो भाइरस नदेखिएको उल्लेख गर्दै उनले यो विषाणुजन्य सङ्क्रमणबाट खुर फट्टा चौपायामा देखिने गरेको जानकारी दिए।

Navadurga sun

उनले भने, “खोरेत सार्ने सात प्रकारका भाइसमध्ये ‘सेरोटाइप ए’ लाई खतरनाक मानिन्छ, यस भाइरसबाट चौपाया छिटो सङ्क्रमित हुने गर्दछन् ।” खोरेत सेरोटाइप ए, ओ, सि, सेट–१, सेट–२, सेट–३एसिया–१ नामक भाइरसबाट चौपायामा सर्ने गर्दछ ।
उनका अनुसार धेरैजसो चौपायामा ‘सेरोपाइप ओ’ प्रकारको खोरेत देखिने गरेको छ । जङ्गली जनावर वा भारतीय जनावरको सम्पर्कबाट ‘सेरोटाइप ए’ भाइरस गाईभैँसी तथा चौपायामा सङ्क्रमण भएको हुनसक्ने उनको भनाइ छ ।

“प्रयोगशालामा खोरेत लागेका चौपायाको नमुना परिक्षण गर्दा ‘सेरोटाइप ए’ भाइरस पाइएको छ”, जोशीले भने, “सो नमुनाको पिसिआर परीक्षणका लागि खोरेत तथा सीमाविहीन पशुपन्छी रोग अन्वेषण प्रयोगशाला चपली, बूढानीलकण्ठ, काठमाडौँमा पठाएका छौँ, नतिजा आउन बाँकी छ ।”उनका अनुसार चौपायामा खोरेत विशेषगरी गाई, भैँसी, बाख्रा, सुँगुरजस्ता खुरजाने जनावरमा देखापर्ने गर्दछ ।

“सेरोटाइप एले चौपायामा तीव्र सङ्क्रमण गराउने र रुप बदल्ने क्षमता राख्ने गर्दछ”, वरिष्ठ पशु चिकित्सक जोशीले भने, “यस भाइरसले चौपायाको खुट्टा, मुख, थुतुनो, थुनलगायतमा दाग, फोका र घाउ बनाउने गर्दछ । सङ्क्रमण भएमा चौपायामा ज्वरो आउने, र्‍याल फाल्ने, गर्भिणी चौपाया तुहिने, सँगै स–साना पाडापाडी, बाच्छाबाच्छी र पाठापाठी मर्ने सम्भावना रहन्छ ।”

योसँगै दूध उत्पादनमा गिरावट, जनावरको वजन घट्ने, प्रजनन प्रणालीमा असर पर्ने सँगै पशुको प्रजनन क्षमताका ह्रास आउने गर्दछ । रोग नियन्त्रणको मुख्य उपाय रोग लाग्नुअघि चौपायालाई एफएमडी भ्याक्सिन कम्तीमा छ देखि १२ महिनामा एकपटक दिनुपर्ने चिकित्सक जोशीको भनाइ छ ।

खोरेतको सङ्क्रमण भएका पशुलाई छुट्टाउने, पशुको ओसारपसार नियन्त्रण गर्ने, गोठ, पशु, औजार, हात कपडा सफा गर्नेलगायत कार्य गरे अरू चौपायालाई खोरेतको सङ्क्रमणबाट जोगाउन सकिन्छ । खोरेत सर्न नदिन प्रदेश र स्थानीय तहको समन्वयमा भ्याक्सिनेसनको काम भइरहेको उनले जानकारी दिए ।

“रोगको सङ्क्रमण देखापरेको क्षेत्र वरिपरिका सङ्क्रमित नभएका चौपायालाई भ्याक्सिन लगाउने काम गरिरहेका छौँ”, शुक्लाफाँटा नगरपालिका पशु विकास शाखाका प्रमुख रामप्रसाद भट्टले भने, “पशु प्राविधिकलाई किसानको घरदैलोमा खटाएर निःशुल्क रूपमा भ्याक्सिन लगाउन खटाएका छौँ ।” रासस

ADD Khali jpg
ADD Khali jpg
Loading...