माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८१ को नतिजा यही असार भित्रै सार्वजनिक हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० का उप-नियन्त्रक तारानाथ निरौलाका अनुसार अहिले देशभरका परीक्षण केन्द्रहरूबाट उत्तरपुस्तिका परीक्षण सकिएर बोर्डमा आउने प्रक्रिया जारी छ ।




चालु वर्षको एसइई परीक्षा गत चैत ७ गते सुरू भई १४ गते सम्पन्न भएको थियो । तर शिक्षक आन्दोलनका कारण यसपटक नतिजा प्रकाशनमा ढिलाइ भएको हो । अघिल्ला वर्षहरूमा असारको दोस्रो वा तेस्रो साता भित्रै नतिजा प्रकाशित हुने परम्परा भए पनि यसपटक केही प्रभावित भएको बोर्डले जनाएको छ ।







परीक्षा नियन्त्रण कार्यालयले भने बाँकी काम तीव्र गतिमा भइरहेको र असारभित्रै नतिजा प्रकाशित गर्ने लक्ष्यमा आफूहरू जुटिरहेको स्पष्ट पारेको छ ।
यसपटकको एसइई परीक्षामा करिब पाँच लाख विद्यार्थी सहभागी भएका छन् । परीक्षा प्रणालीमा ग्रेडिङ प्रणाली लागू भए पनि विद्यार्थी, अभिभावक र शिक्षकहरूले समयमै नतिजा प्राप्त होस् भन्ने अपेक्षा राख्दै आएका छन् ।
बोर्डले नतिजा प्रकाशन मिति नजिकिँदै जाँदा थप सूचना सार्वजनिक गरिने जनाएको छ ।




