बर्दिया- बर्दियाको गुलरियामा रहेको श्री मदरसा असरफिया मसउदुल उलूम आधारभूत विद्यालय गम्भीर संकटमा परेको छ । विद्यालयमा कक्षा ५ सम्म अध्ययन गराउने व्यवस्था छ भने हाल यहाँ १५२ जना विद्यार्थी अध्ययनरत छन् । विद्यालयमा हाल ७ जना शिक्षक कार्यरत छन् । थप ४ जना उर्दू विषयमा विशेषज्ञ छन् ।




विद्यालयले प्रदेश सरकारबाट वार्षिक तीन लाख रुपैयाँ अनुदान प्राप्त गरिरहेको छ, तर त्यो रकम अत्यन्तै अपुग भएको विद्यालय प्रशासनको गुनासो छ । आर्थिक अभाव, भौतिक पूर्वाधारको कमजोर अवस्था तथा विद्यार्थी सङ्ख्यामा दिनप्रतिदिन भइरहेको गिरावटले विद्यालय अस्तित्वकै सङ्कटमा पुगेको छ ।





शिक्षक साकिर सिद्दिकी १८ वर्षदेखि यही विद्यालयमा कार्यरत छन् तर अझै पनि उनी मासिक केवल आठ हजार रुपैयाँमा काम गर्न बाध्य छन् । गत वर्षसम्म गैर-मुस्लिम विद्यार्थी ७ जना थिए, तर यस वर्ष अहिलेसम्म एकजना पनि भर्ना भएका छैनन्, सिद्दिकीले बताए ।


विद्यालयको अवस्थाबारे जानकारी लिन सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँ गुलरिया पुगेका थिए । हालै कर्णाली प्रदेश प्रमुखको समेत जिम्मेवारी पाएका मियाँको कर्णालीको कार्यभार सम्हाल्न जाने क्रममा विद्यालयको निरीक्षण गरेका हुन् । क्रममा स्थानीय अभिभावक र शिक्षकहरूले विद्यालयको गम्भीर अवस्थाबारे जानकारी गराउँदै प्रदेश प्रमुखसँग तत्कालीन सहयोगको अपिल गरेका थिए ।
प्रदेश प्रमुख मियाँले विद्यालयको अवस्थाबारे गम्भीर छलफल र आवश्यक परामर्श गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले भने, शिक्षा सबैका लागि समान रूपमा उपलब्ध हुनुपर्छ । मदरसा विद्यालयहरू हाम्रो विविधता र धार्मिक सहिष्णुताको परिचायक हुन् । यस विद्यालयको संरक्षणका लागि आवश्यक कदम चालिनेछ ।
स्थानीय अभिभावक, शिक्षक तथा समुदायले प्रदेश सरकारसँग सहयोगको अपेक्षा राखेका छन् । उनीहरू भन्छन्, मदरसा हाम्रो भाषा, संस्कृति र धार्मिक शिक्षाको केन्द्र हो । यसले अस्तित्व जोगाउन नसक्ने हो भने समुदायकै पहिचान संकटमा पर्छ ।
प्रदेश सरकारको पहल, नीति-निर्माण र विशेष अनुदानको व्यवस्था नभएमा विद्यालय बन्द हुने खतरा देखिन थालेको छ । यसैबीच शिक्षा क्षेत्रका विज्ञहरूले पनि मदरसा शिक्षाको प्रभावकारी संरक्षण र प्रवर्द्धनमा सरकारले ध्यान दिनुपर्ने बताएका छन् ।




