


धनगढी- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले बोलाएको सर्वदलीय बैठक बिना निष्कर्ष टुङ्गिएको छ । बैठकमा सत्ता गठबन्धनका घटक दल र प्रतिपक्षी दलका प्रतिनिधिहरू उपस्थित भए पनि महत्वपूर्ण निर्णयमा पुग्न सकेनन् । मुख्यमन्त्री शाहले प्रदेश सभा बैठक अवरुद्ध गर्ने प्रतिपक्षी दललाई बैठकमा बोलाएका थिए ।


बैठकमा नेपाली काङ्ग्रेसका प्रमुख सचेतक विक्रमसिंह धामी, नेकपा एमालेका पूर्व मुख्यमन्त्री राजेन्द्र सिंह रावल, नागरिक उन्मुक्ति पार्टीका नेता घनश्याम चौधरी, नेकपा माओवादी केन्द्रका मान बहादुर धामी र अन्य दलका नेता तथा सचेतकहरू सहभागी थिए । मुख्यमन्त्री शाहले प्रतिपक्षी दललाई संसद् सुचारु गर्न आह्वान गरेका थिए ।



प्रतिपक्ष दलले अनावश्यक खर्च कटौती गर्ने प्रस्ताव राखेपछि माओवादी दलका नेता मान बहादुर धामीले सरकारको अनावश्यक खर्च कटौती गर्नुपर्ने आवश्यकता औंल्याए । यद्यपि, एमालेसँगको असहमति पछि बैठक स्थगित भएको हो ।
बैठकमा सत्तापक्षका दलका नेताहरूले सेवा सुविधाको कटौती, गोष्ठी र सेमिनारहरू हटाउने जस्ता विषयमा छलफल गरेका थिए । बैठक ११ बजे देखि सुरु भएर ३ बजे सम्म चले पनि ठोस सहमति नजुटेपछि स्थगित भएको हो ।
बैठकमा सामाजिक विकास मन्त्री मेघराज खड्का र डा. गणेश सिंह पनि उपस्थित थिए । बैठकको क्रममा सेती प्रादेशिक अस्पताललाई गाभेर मेडिकल विश्वविद्यालय सञ्चालन गर्ने विषयमा पनि छलफल भएको थियो ।





