परम्परा धान्ने नाममा बाजुरामा गाई माथि क्रूर व्यवहार

सामाजिक सञ्जाल फेसबुक लगायतमा एउटा गाईलाई ढुंगाले हान्दै नदीमा हेलेको भिडिओ भाइरल छ । यो भिडिओ बाजुराको जगन्नाथ गाउँपालिका वडा नम्बर ६ को हो ।

Ganyapdhura gau

काप्री गाउँका करिब ६५ वर्षीय साउने सार्कीको गत फागुन २८ गते मृत्यु भएको थियो । उनी केही समयदेखि बिरामी थिए ।

Navadurga sun
Godawari sandesh

शव अन्त्येष्टिका लागि भोलिपल्ट गाउँ नजिकैको कर्णाली नदी किनारको घाटमा लगियो । अन्त्येष्टि सकियो, यही बीचमा मलामी गएकै केही युवाहरू साथमा लगेको गाईलाई नदीमा हेल्न खोजेका थिए । गहिरो नदीमा हेलिन गाई डरायो तर मलामीमध्ये एक जनाले गाईलाई नदीमा हेल्न धकेले । तैपनि गाई नदीमा पस्न मान्दैन । त्यसपछि गाईमाथि ढुङ्गैढुंगा बर्साइन्छ । यो भिडिओ एक जना पत्रकारले खिचेका थिए ।

गाईलाई कर्णाली नदी तार्ने उद्देश्य ती युवाहरूको थियो । गलत परम्पराका कारण उनीहरूले गाईलाई ढुंगाले हानेर नदी कटाउन खोजेका थिए । गाई नदी तर्न खोज्छ पनि तर गहिरो भएकोले सक्दैन। केही पर पुगे पनि किनारामै फर्किन्छ ।कुनै पनि कार्य गर्दा गौदान गर्ने परम्परा छ । बाजुरामा भने फरक र गलत परम्पराले गाईलाई जबरजस्ती नदीमा हेल्ने गरिन्छ ।

‘मानिसको मृत्युपछि गाईलाई नदी पार गराए मृत आत्मालाई मोक्ष मिल्छ भन्ने सोच छ । त्यसैका लागि अबोध गाईमाथि कुटपिट गरी नदीमा पठाउने प्रयास भएको थियो,’ स्थानीय धनबहादुर बिसीले भने ।

शव घरबाट नउठाउँदासम्म आफन्तहरू आइसकेका थिएनन् । त्यसले घरमै गौदान गर्न उनीहरूले पाएका थिएनन् । नजिकका नातेदार बेलैमा आइपुगेका भए उनीहरूलाई नै गौदान (गाई दान) गरिन्थ्यो, नदी किनारासम्म गाईलाई लैजान पर्दैनथ्यो । तर गौदान बाँकी नै रहेपछि उनीहरूले गाईलाई पनि घाटसम्म पुर्‍याएका थिए ।

Dadeldhura hospital

‘पण्डितले पनि दान गरेको गाई लिन मान्दैनन् र अर्कोतर्फ गौदान गरेपछि मात्रै पुन्य मिल्छ भन्ने मान्यता छ,’ बाजुराका प्रहरी प्रमुख दिलीपकुमार गिरीले भने, ‘त्यसरी दान गरेको गाई फर्किएर घर पुगे पुन्य प्राप्त हुँदैन भन्ने गलत सोचले गर्दा यो सबै भएको भन्ने छ, थप अनुसन्धान हुँदैछ ।’ गाईमाथि क्रूर व्यवहार हुनु गलत भएको उनले बताए ।
‘त्यसरी एउटा गाईमाथि निर्मम कुटपिट र ढुंगा प्रहार गर्नेहरूलाई कानुनी दायरामा ल्याउँछौं । मैले स्थानीय प्रहरीलाई पत्राचार गरी ती व्यक्तिहरूको पहिचान गर्न र प्रहरी कार्यालयमा पठाउन भनेको छु,’ उनले भने ।

गाईको अवस्था के छ भन्नेबारे पनि बुझ्न पठाएको प्रहरीको भनाइ छ । स्थानीय धनबहादुर बिसीले भने गाई घर फर्किसकेको बताए ।

प्रमुख जिल्ला अधिकारी मेघनाथ पाण्डेले गाईलाई पिट्दै कर्णाली नदीमा हेल्न खोज्नु मानवताकै उपहास भएको बताए ।

पुन्य कमाउन भन्दै गलत कार्य र परम्परा भएको हुँदा त्यसबारे प्रहरीले सम्बन्धितलाई बोलाएर छलफल गर्ने उनको भनाइ छ ।

‘गाईमाथि कुटपिट गर्दै जबरजस्ती नदी कटाउन खोज्नेहरूको खोजी सुरू भइसकेको छ । गलत मान्यता र परम्परा सबैले हटाउँदै जानुपर्छ,’ उनले भने ।

पत्रकार समेत रहेका स्थानीय धन बहादुर बिसीले आफूले खिचेको भिडिओ एक दिन पहिले मात्रै आफ्नो फेसबुक पेजमा राखेका थिए । उनलाई केही स्थानीयले भिडिओ हटाइदिन पनि आग्रह गरेका थिए ।

उनका अनुसार विगत देखि नै गाउँमा यही प्रचलन छ । भिडि‍ओ भाइरल भएपछि र आएका आलोचनाले बल्ल यो गलत रहेछ भन्ने स्थानीयलाई लागेको छ । जगननाथ गाँउपालिका ६ का वडाध्यक्ष धन बहादुर सार्कीले गतल कुरा त्याग्नु पर्ने बताएका छन् ।

‘गलत नै भए पनि सामाजिक मान्यता र परम्परा एकै पटक हट्दा रहेनछन् । त्यो हामीले गरेको गलत नै हो, तर त्यो समाजकै परम्परा धान्नका लागि भनेर गरेको कार्य हो,’ उनले भने, ‘अब यस्ता गल्ती दोहोर्‍याउन हुन्न ।’
साभार गरिएको

Couple
Loading...