करोडौँ रकम खर्चेर बनाइएको होल्डिङ सेन्टर जीर्ण बन्दै

अत्तरिया- कैलालीको धनगढी उपमहानगरपालिका–३, बडहरामा करोडौँ रकम खर्चेर बनाइएको होल्डिङ सेन्टर जीर्ण बन्न थालेको छ । निर्माण पूरा भएको तीन वर्षसम्म प्रयोगमा नआउँदा होल्डिङ सेन्टर जीर्ण बन्न लागेको हो ।

कोभिड–१९ महामारीको क्रममा गौरिफन्टा नाका भएर भारतबाट फर्कनेको व्यवस्थापनका लागि मोहना सामुदायिक वन क्षेत्रमा होल्डिङ सेन्टर बनाइएको थियो तर २०७८ जेठ मसान्तमा होल्डिङ सेन्टर निर्माण पूरा हुँदासम्म महामारी घटेर अवस्था सहज बन्दै गएपछि होल्डिङ सेन्टर प्रयोगमा आउन सकेन ।

Navadurga sun

सेन्टर प्रयोगमा नआउँदा दिनप्रतिदिन जीर्ण बन्दै गइरहेको वडाध्यक्ष राजबहादुर ऐरले बताए । उनले भने, “नेपाल सरकारले यसलाई हस्तान्तरण गर्न खोजेको सुनेका छौँ ।

त्यसैले धनगढी उपमहानगरपालिकाले लिने भनेर हामीले छलफल चलाइरहेका छौँ ।” “होल्डिङ सेन्टरमा बालबालिका अस्पताल चलाउनका लागि पनि केही वर्ष पहिले कुरा अगाडि बढाइएको थियो,” उनले भने, “तर त्यसले सार्थकता पाएन ।”

सङ्घीय सरकारले आर्थिक वर्ष २०७८/०७९ मा २८ करोड ८१ लाख १२ हजार रुपियाँ खर्चेर बनाएको होल्डिङ सेन्टर कसलाई सुम्पिने भन्ने नै अहिले सम्म टुङ्गो लागेको छैन । तत्कालीन समयमा नेपाली सेनाको अनुगमन र व्यवस्थापनमा निर्माण भएकाले होल्डिङ सेन्टरको हेरचाह सेनाको भवानी दल गण बोराडाँडीले गर्दै आएको छ । होल्डिङ सेन्टरको सुरक्षाका लागि त्यहाँ निर्माण पूरा भएदेखि नै नेपाली सेना खट्ने गरेका छन् ।

होल्डिङ सेन्टर कसलाई हस्तान्तरण गर्ने भन्ने नै अहिले सम्म अन्योल रहेको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए। उनले भने, “जिल्ला प्रशासन कार्यालयलाई हस्तान्तरण गरिने हो वा धनगढी उपमहानगरपालिकालाई दिइने हो ? त्यसबारे अहिले सम्म केही टुङ्गो लागेको छैन ।”

कोभिड–१९ को कहर सुरु भएपछि भारतबाट फर्किने नेपाली कामदारलाई गौरिफन्टा नाकामा थेग्न हम्मे भएको थियो । नाकाबाटै महामारी अझ फैलिएको देखिएपछि स्वदेश फिर्ता हुनेलाई छुट्टै र सुरक्षित स्थानमा केही दिन होल्ड गर्नका लागि होल्डिङ सेन्टर निर्माण भएको थियो । २०७८ असार ३ गते ठेक्का पाई हनुमान कन्स्ट्रक्सन प्रालिले निर्माण कार्य थाले पनि तोकिएको निर्माण अवधि भदौभित्र काम पूरा गर्न सकेन ।

निर्माण कम्पनीले तीन महिनाभित्रै निर्माण गर्नुपर्ने होल्डिङ सेन्टर २०७८ जेठमा पूरा हुँदासम्म महामारीले उत्पन्न परिस्थिति सहज बन्न थालेको थियो । होल्डिङ सेन्टर निर्माण हुँदासम्म अवस्था सहज बनेपछि ठुलो लगानीको संरचना प्रयोगमा आउन सकेन । होल्डिङ सेन्टरमा २२ वटा क्वारेन्टाइन, २२ वटा चर्पी र १५ वटा डाइनिङ हलसहितको भान्साकोठा रहेका छन् ।

ADD Khali jpg
ADD Khali jpg
Loading...