प्रधानमन्त्री देउवा, अध्यक्ष द्वय नेपाल र दाहालबीच भेटवार्ता




काठमाडौँ, १३ भदाै– प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ ।


प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको भेटमा उहाँहरुबीच मन्त्रिमण्डललाई पूर्णता दिनेलगायत समसामयिक राजनीति विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।



नेकपा (एमाले) फुटेर केही दिनअघि मात्र एकीकृत समाजवादी पार्टीले निर्वाचन आयोगबाट मान्यता पाएसँगै सत्तारुढ गठबन्धनका शीर्ष नेताहरू मन्त्रिमण्डललाई पूर्णता दिन लाग्नुभएको हो ।
काँग्रेस सभापति देउवाले माओवादी केन्द्र, वरिष्ठ नेता नेपाल, जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाको समर्थनमा गत असार २९ गते प्रधानमन्त्री पदको शपथ लिनुभएको थियो ।
प्रधानमन्त्रीले लिनुभएको शपथका दिन नै काँग्रेसबाट दुई र माओवादी केन्द्रबाट दुई मन्त्रीले पनि शपथ लिनुभएको थियो । त्यसपछि प्रधानमन्त्री देउवाले काँग्रेसका उमेश श्रेष्ठलाई स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्रीमा नियुक्त गर्नुभएको थियो ।



