सुदूरपश्चिम प्रदेश सभा स्थापनाको ७ वर्ष पूरा

धनगढी- सुदूरपश्चिम प्रदेश सभा स्थापना भएको आज सात वर्ष पूरा भएको छ । २०७४ साल माघ ७ गते सुदूरपश्चिम प्रदेश सभाको स्थापना भएको थियो ।

सुदूरपश्चिम प्रदेश सभा सचिवालय, धनगढीले आज सातौँ स्थापना दिवस मनाउदैछ । प्रदेश सभामा सोमवार दिउँसो चियापान, स्थापना दिवसको अवसरमा कार्यक्रम, दीप प्रज्वलन लगायतका कार्यक्रम गर्दैछ । प्रदेश सभामा औपचारिक कार्यक्रमको आयोजना गरिएको हो ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

पहिलो कार्यकाल पूरा गरी दोस्रो कार्यकाल प्रवेश गरेको प्रदेश सभाले नयाँ सदस्य, सभामुख र उपसभामुख तथा संसदीय दलका नेता पाइसकेको छ । आइतवारको प्रदेश सभाबाट संसदीय विषयगत समितिको निर्वाचनका लागि कार्यतालिका सार्वजनिक गर्न निर्देशन दिइएको छ । हालसम्म दलहरूको बिचमा भागबन्डा नमिलेकाले विषयगत समितिको टुङ्गो लागेको थिएन ।

सुदूरपश्चिम प्रदेश सभाले सात वर्षको अवधिमा सरकार सञ्चालन र सेवा प्रवाह गर्ने ६८ वटा कानुन निर्माण गरेको छ । सभाबाट पारित भएका विधेयक पनि प्रदेश प्रमुखबाट प्रमाणीकरण भइसकेका छन् ।

प्रदेश सभाले २०७५ असोज १२ गते प्रदेशको नाम सुदूरपश्चिम तथा राजधानी गोदावरी नगरपालिकाको तेघरीमा राख्ने प्रस्ताव दुई तिहाइ बहुमतका साथ पारित गरेको थियो । प्रदेश सभा स्थापनाको सात वर्ष हुँदा पनि स्थायी राजधानीको निर्णय कार्यान्वयनमा आएको छैन ।

प्रदेश सरकारले राजधानी घोषणा गरे पनि हालसम्म भौतिक संरचना निर्माण लगायतका कुनै पनि प्रगति नभएको हो । प्रदेश सभाले जङ्गल क्षेत्रमा स्थायी राजधानी तोकेकाले समस्या भएको छ । सङ्घीय सरकारले रुख कटानी तथा जङ्गल क्षेत्रको जग्गा प्रयोगको स्वीकृति नदिएकाले राजधानीको निर्णय कार्यान्वयन भएको छैन ।

Loading...