

अत्तरिया- कैलालीको गोदावरी नगरपालिका वडा नं १ द्वारा चिसोका कारण प्रभावित ज्येष्ठ नागरिकलाई न्यानो कम्बल वितरण गरेको छ ।



अत्यधिक चिसोले स्वास्थ्यमा पर्ने असरलाई ध्यानमा राख्दै वडाले आर्थिक वर्ष २०८१/०८२ मा ५० हजार रुपैयाँ बजेट छुट्याएको थियो । यो बजेटबाट ८० वर्ष उमेर पूरा गरेका १०१ ज्येष्ठ नागरिकलाई न्यानो कम्बल प्रदान गरिएको हो ।


वडा अध्यक्ष तथा नगर प्रवक्ता गोपाल दत्त भट्टका अनुसार बजेट सीमित भएकाले ८० वर्ष वा सोभन्दा माथिका नागरिकलाई मात्र कम्बल वितरण गरिएको जनाएको छ । कम्बल वितरणले ज्येष्ठ नागरिकहरूको दैनिकीमा केही सहजता ल्याउने अपेक्षा गरिएको छ ।
वडाले चिसोको प्रभावलाई कम गर्दै ज्येष्ठ नागरिकहरूमा खुसीको माहोल सिर्जना गर्न प्रयास गरेको छ। साथै, वडा नं १ ले स्थानीयवासीहरूको आवश्यकतामा ध्यान दिँदै विकास निर्माणका कार्यक्रमलाई पनि निरन्तरता दिइरहेको छ ।