काठमाडौँ । नेपाल प्रिमियर लिग ९एनपीएल० टोली सुदूरपश्चिम रोयल्स र नेपाल टेलिकमबीच टेलिकम पार्टनरका लागि प्रायोजन सम्झौता भएको छ।



सञ्चार क्षेत्रमा नेपालको अग्रणी संस्थाका रूपमा रहेको नेपाल टेलिकम र रोयल्सबीच सम्झौता भएको हो। सम्झौता पत्रमा रोयल्सका प्रमुख कार्यकारी अधिकृत ९सीईओ० प्रकाश खड्का र नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडीले हस्ताक्षार गरे।


सम्झौतापछि सीईओ खड्काले टेलिकमको साथप्रति आभार व्यक्त गर्दै क्रिकेट विकासमा रोयल्सले महत्त्वपूर्ण भूमिका खेल्ने अभिव्यक्ति दिए।खड्काले नेपाल टेलिकम यसअघि पनि नेपाली क्रिकेटलाई सहयोग गरिरहेको र यसपटक रोयल्सलाई सहयोग गरेकामा मैदानभित्र उत्कृष्ट प्रदर्शन गरेर टेलिकमलाई गौरव महसुस गराउन तत्पर रहेको बताए।

प्रबन्ध निर्देशक पहाडीले नेपालको खेलकुद क्षेत्रको बृहत्तर विकासका लागि नेपाल टेलिकमले सदैव योगदान दिएको एवं नेपाली क्रिकेटसँग पनि लामो समयदेखि जोडिइरहेको स्मरण गर्दै सुदूरपश्चिमाञ्चल रोयल्स मार्फत एनपीएलमा जोडिन पाउँदा खुसी लागेको बताए।
एनपीएलमार्फत नेपाली क्रिकेटले नयाँ उचाइँ प्राप्त गर्ने र यो प्रतियोगिता नेपाली खेलकुद विकास क्रमकै महत्त्वपूर्ण हुने बताउँदै यसमा सुदूरपश्चिमाञ्चल रोयल्सको विशेष भूमिका रहने विश्वास पनि उनले व्यक्त गरे।
सुदूरपश्चिम रोयल्सले यसअघि एसपीएलाई एजुकेसन पार्टनर र कुमारी जबलाई करिअर पार्टनरका रूपमा भित्र्याएको थियो। एनपीएलको अवधिभर टोलीले म्यारीयट काठमाडौँमा बसोबास गर्न सहकार्य सम्झौता पनि गरिसकेको छ।
क्यानको आयोजनामा ८ टोलीको सहभागितामा यही मंसिर १५ देखि पुस ६ गतेसम्म एनपीएल हुनेछ। सुदूरपश्चिमको मार्की खेलाडीमा कीर्तिमानी अलराउन्डर दीपेन्द्रसिंह ऐरी हुन्। मेन्टरमा अस्ट्रेलियाका ब्रान्ड हज तथा मुख्य प्रशिक्षक राष्ट्रिय टोलीका पूर्व प्रशिक्षक जगत् टमाटा छन्।
टोलीमा दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, अभिनास बोहोरा, विनोद भण्डारी , अर्जुन कुमाल, खडक बोहोरा, इशान पाण्डे, नरेश बुढाऐर, भोजराज भट्ट, नरेन साउद , अमित श्रेष्ठ, ब्रान्डन मक्मलेन (स्कटल्यान्ड), सेफ अलि जेब (इंग्ल्यान्ड), स्कट कुगेलेइन (न्युजिल्यान्ड), रोहन मुस्तफा (यूएई) छन्।




