अत्तरिया- कैलालीको गोदावरी नगरपालिका वडा नं १ अत्तरियामा पहिलो पटक क्रिकेट एकेडेमी सञ्चालनमा आउने भएको छ । क्रिकेट खेलप्रति स्थानीयलाई जागरुक गर्न शीघ्र सञ्चालनमा ल्याउने गरी सोमबार अत्तरियाको बनखेतमा सीवाईसी अत्तरिया स्कूल अफ क्रिकेट एकेडेमीको सिलान्यास गरिएको हो ।



स्थानीय खेलाडीहरूमा क्रिकेटप्रति थप उर्जा प्रदान साथै क्रिकेटलाई निरन्तरता दिन क्रिकेट एकेडेमी सञ्चालनमा ल्याउन गरिरहेको सञ्चालक तथा क्रिकेट प्रशिक्षक रजत शाहीले जानकारी दिए ।



सञ्चालक तथा प्रशिक्षक शाहीले क्रिकेट सिक्न चाहने खेलाडीहरूले टाढाटाढा धाउनु पर्ने बाध्यतालाई मध्यनजर गरी स्थानीय खेलाडीहरुको सहजताका निम्ति १ महिना मै एकेडेमी निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउन गइरहेको बताए । टाढाटाढा क्षेत्र देखि आएर यस क्रिकेट एकेडेमीमा सिक्न चाहने व्यक्तिहरूको लागि होस्टलको व्यवस्था समेत गर्न गइरहेको सञ्चालक शाहीले बताए ।
शाहीले सिलान्यास लगत्तै सञ्चालनमा ल्याउन गरिरहेको क्रिकेट एकेडेमीमा विशेष गरी क्रिकेट सिक्न चाहने महिलाहरुलाई उच्च सम्मान गर्दै भर्ना निःशुल्क गरिने समेत बताए । उनले खेलाडी देशका गहना हुन् त्यस कारणले गर्दा हामी खेलाडीहरुलाई प्रोत्साहन गर्न पछि नहट्ने समेत बताए ।
देश लगायत विदेशमा नेपालले क्रिकेटमा फड्को मार्दै गईरहेको अवस्थामा सञ्चालक शाही विगत १८ वर्ष देखि क्रिकेटलाई निरन्तरता दिँदै आइरहेका छन् भने अत्तरियाको सृजनशील युवा क्लब साथै अत्तरिया कै सत्यवती एकेडेमीका क्रिकेट प्रशिक्षक समेत रहेका थिए । शाहीले विभिन्न संस्थामा क्रिकेट प्रशिक्षण गराएको साथै सो टिमले विभिन्न क्षेत्रको प्रतियोगीतामा सहभागी भई प्रथम साथै उत्कृष्ट टिम हासिल गराउन समेत सफल भएका छन् ।




