

बझाङ- बझाङको जयपृथ्वी नगरपालिका–९ सिमखेतका नारायण जोशी किरिया बस्दा पनि कार्यालयको काममा खटिएका छन् ।


पितृशोकमा रहेका जोशीले घरबाटै कार्यालयको काम गरिरहेका छन् । जिल्ला स्वास्थ्य कार्यालय बझाङका ल्याब टेक्निसियन निरीक्षक र र्यापिड रेस्पोन्स टिमका संयोजक हुन् । सेवा प्रवाहमा असर नपरोस् भनेर किरिया बसेकै अवस्थामा कार्यालयको नियमित काममा खटिएको जोशीले बताए ।



कात्तिक २३ गते शुक्रवार जोशीका बुवाको निधन भएपछि २४ गते दाहसंस्कार गरियो । जोशी २४ गतेदेखि किरिया स्थलबाटै नियमित कार्यालयको काम गरिरहेका छन् । उनले भने, र्यापिड रेस्पोन्स लगायतका महत्त्वपूर्ण काम ओझेलमा नपरोस् भन्ने छ । त्यसैले काम गरिरहेको छु ।’
मधुमेहका विरामी रहेका बुवा धर्मराज जोशीको ६५ वर्षको उमेरमा मृत्यु भएको थियो । कार्यालयको दैनिक कामकाजमा कुनै पनि समस्या सृजना नहोस् भनेर काम गरिएको जोशीको भनाइ छ ।
नेपाल सरकारको नियमानुसार १५ दिन किरिया बिदा पाइन्छ । विपद् आपत्मा परेका नागरिकको तत्काल प्रतिकार्य गर्न सकियोस् भनेर आफूले कामकाज गरिरहेको जोशीले बताए ।

