अत्तरिया- गोदावरी नगरपालिका–२, अत्तरियास्थित ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय (ओम् शान्ति) अत्तरिया शाखाले आगामी भदौ ६ गते शनिबार बृहत् रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ।
विश्व बन्धुत्व दिवस तथा राजयोगिनी प्रकाशमणि ज्यूको १९औँ पुण्यतिथिको अवसरमा ‘एक थोपा रगत, अनन्त आशीर्वाद’ भन्ने मूल नारासहित रक्तदान जीवनदान शिविर आयोजना गर्न लागिएको हो।

बिहीबार अत्तरियामा आयोजित पत्रकार सम्मेलनमा विश्वविद्यालयकी सञ्चालिका रविनाले कार्यक्रमबारे जानकारी दिँदै गत वर्ष विश्वविद्यालयका विभिन्न शाखाबाट सञ्चालन गरिएको रक्तदान अभियानमार्फत १ सय घण्टामा ११ हजार पिन्ट रगत संकलन गर्न सफल भएको बताइन्। सोही अभियानलाई निरन्तरता दिँदै यस वर्ष पनि बृहत् रक्तदान कार्यक्रम आयोजना गर्न लागिएको उनले जानकारी दिइन्।
अत्तरियाको कार्यक्रम अत्तरिया उद्योग वाणिज्य संघको विशेष सहकार्यमा आयोजना हुन लागेको हो। कार्यक्रममा विभिन्न युवा क्लब, जनप्रतिनिधि, समाजसेवी, उद्योगी–व्यवसायी, व्यापारी, संघ–संस्था तथा सर्वसाधारणलाई सहभागी भई रक्तदान गर्न आयोजकले आग्रह गरेको छ।
रक्तदान जीवन बचाउने महत्वपूर्ण मानवीय कार्य भएकाले इच्छुक सबैलाई कार्यक्रममा सहभागी हुन सञ्चालिका रविनाले अपिल गरिन्। कार्यक्रम भदौ ६ गते शनिबार बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ।
