अत्तरिया- गोदावरी नगरपालिकामा छाडा पशु चौपायाको व्यवस्थापन तथा संरक्षणको माग गर्दै स्थानीयले नगर प्रमुख र उपप्रमुखको कार्यकक्षमा लगाएको ताला तोडिएपछि स्थानीय आक्रोशित भएका छन्।
स्थानीयले बिहीबार पत्रकार सम्मेलन गर्दै नगर प्रमुखले आफूहरूको मागप्रति गैरजिम्मेवार बनेर एकतर्फी रूपमा बल प्रयोग गरी ताला तोडेको आरोप लगाएका छन्।

स्थानीय युवा बिराज विष्टका अनुसार बुधबार बिहानदेखि दिउँसो ३ बजेसम्म नगर प्रमुखलाई भेट्न कुरेर बसे पनि नगर प्रमुख धनगढीमा कार्यक्रममा गएको भन्दै कार्यालयमा उपस्थित नभएपछि आफूहरू तालाबन्दी गर्न बाध्य भएको बताए। उनका अनुसार नगर प्रमुख बुधबार नै काठमाडौंंको कार्यक्रम सकेर फर्किसकेको भए पनि स्थानीयसँग भेट गर्न आनाकानी गरेपछि तालाबन्दी गरिएको हो।
त्यस्तै, स्थानीय युवा उत्तम महराले नगर प्रमुखले ताला तोड्नु गैरजिम्मेवार कार्य भएको आरोप लगाए। उनले भने, “नगर प्रमुखले एकतर्फी रूपमा ताला तोड्नु उहाँको विजयको कुरा होला। तर कार्यक्रममा दिनभर समय दिन सक्ने नगर प्रमुखले जनताका समस्या सुन्न १० मिनेट पनि दिन नसक्नु कस्तो नैतिकता हो ?”
स्थानीयले सुरुवातमा नगरपालिकामा तालाबन्दी गर्ने उद्देश्य नरहेको बताएका छन्। उनीहरूका अनुसार छाडा पशु चौपायाको व्यवस्थापन, संरक्षण तथा समस्याको समाधानका लागि नगर प्रमुखसँग सरसल्लाह र पहल गर्न आफूहरू नगरपालिका पुगेका थिए। तर नगर प्रमुखबाट कुनै प्रतिक्रिया नआएपछि बाध्य भएर तालाबन्दी गर्नुपरेको उनीहरूको भनाइ छ।
यसैबीच, गोदावरी नगरपालिकाका नगर प्रमुखले स्थानीयलाई शुक्रबार बिहान ११ बजे छलफलका लागि नगरपालिका कार्यालयमा आउन आह्वान गरेका छन्। स्थानीय र नगरपालिकाबीचको छलफलबाट छाडा पशु चौपायाको समस्या समाधानका लागि ठोस पहल हुने अपेक्षा गरिएको छ।
