लामिछाने विरुद्ध सहकारी ठगी र सङ्गठित अपराधमा अनुसन्धान हुने

पोखरा- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेविरुद्ध सहकारी ठगी र सङ्गठित अपराधमा अनुसन्धान हुने भएको छ । पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेविरुद्ध कास्कीको पोखरा महानगरपालिका वडा नम्बर ४ मा रहेको सूर्य दर्शन बचत तथा ऋण सहकारीको रकम गोरखा मिडिया प्रालिमा लागि ठगी गरेको अभियोग छ ।

जिल्ला अदालत कास्कीबाट शुक्रवार दिउँसो पक्राउ पुर्जी जारी भएपछि लामिछानेलाई शुक्रवार साँझ पक्राउ गरी स्थल मार्गबाट पोखरा ल्याइएको छ । शनिवार बिहान पौने ३ बजेतिर उनलाई पोखरा ल्याई पुर्याइएको थियो । गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षणपछि उहाँलाई जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखिएको छ ।

Navadurga sun

सूर्य दर्शन सहकारी ठगीका अनुसन्धानकर्तासमेत रहेका जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले लामिछानेको स्वास्थ्य अवस्था ठिक रहेको र जिल्ला प्रहरी कार्यालयको हिरासतमा छुट्टै राखिएको उल्लेख गरे । कास्की प्रहरीकै हिरासतमा यही अभियोगमा पक्राउ परेका गोरखा मिडिया सञ्चालक छविलाल जोशीसमेत हुन् ।

संसदीय छानबिन समितिले सहकारी ठगीमा संलग्न देखिएको भन्दै लामिछानेलाई पनि कारबाही गर्न सिफारिस गरेको थियो । सहकारी संस्थाको बचत रकम दुरुपयोगसम्बन्धी गठित संसदीय छानबिन समितिले गत भदौ ३१ गते प्रतिनिधि सभामा प्रतिवेदन पेस गरेको थियो । लामिछाने गोर्खा मिडियाको तत्कालीन प्रबन्ध निर्देशक लामिछाने हुन। उजीसहित विभिन्न कम्पनी र व्यक्तिलाई विपक्षी बनाएर सहकारी पीडितले गत वर्ष माघ २२ गते नै जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए । कास्की प्रहरीले शुक्रवारै लामिछानेसहित १४ जनाविरुद्ध जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएको छ ।

सूर्य दर्शन बचत तथा ऋण सहकारीमा १८ हजार सात सय जनाको एक अर्ब ३५ करोड अपचलन भएको विभिन्न छानबिन समितिले देखाएका छन् । सूर्य दर्शन सहकारी ठगीका मुख्य योजनाकार मानिएका पूर्व अध्यक्ष एवं गोर्खा मिडियाका अध्यक्ष गीतेन्द्रबाबु (जिबी) राई, भूपेन्द्र राई, थानबहादुर बुढा, धिरजकुमार दास लगायत फरार छन् ।

यही मुद्दामा शिवबहादुर गुरुङ ‘महेन्द्र भोटे’, भविश्वर अर्याल, सहकारीका कोषाध्यक्ष कुमार रम्तेल, पूर्व उपाध्यक्ष कैलाशकुमार दर्लामी मगर र सञ्चालक समिति सदस्य प्रमोद भट्टराई पुर्पक्षका लागि थुनामा छन् ।

ADD Khali jpg
Loading...