


कैलाली- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सरकारको लगानीमा बनेका सार्वजनिक भौतिक संरचना सञ्चालनमा समस्या देखिएको बताएका छन ।


सोमबार घोडाघोडीमा बन्दै गरेको धर्मशालाको निरीक्षणका यस्तो बताएका हुन् । धार्मिक तथा पर्यटकीय क्षेत्रले महत्वपूर्ण विश्व सिमसार क्षेत्र घोडाघोडीमा ठुलो लगानीमा धर्मशाला निर्माणाधीन अवस्थामा छ ।


राधाकृष्ण मन्दिर भागवत धर्मसेवा समितिको अगुवाइमा निर्माण हुदैँगरेको उक्त धर्मशाला संघ, प्रदेश र स्थानीय सरकारको सहयोग रहेको छ । मुख्यमन्त्री शाहले घोडाघोडी ताल क्षेत्रको विकास जति हुनपर्ने हो त्यति हुन नसकेको बताए । प्रदेश सरकारले २०७८ सालमा चरा अभय आरण्य क्षेत्र घोषणा गरेर यहाँको सिमसार संरक्षणसँगै पर्यटकीय विकास गर्ने लक्ष्य लिएको मुख्यमन्त्री शाहले बताए ।

धर्मशाला निर्माणका सन्दर्भमा उनले भने, सरकारले निर्माण गरेका धेरै भौतिक संरचना सञ्चालनमा समस्या देखिएको छ । शीतभण्डार, हाटबजार, सहकारी लगायतका संरचना निर्माणमा सरकारको सहयोग छ । तर सञ्चालनका लागि आवश्यक कर्मचारीलगायत जनशक्ति परिचालन नहुँदा समस्या देखिएको छ ।’
सरकारले निर्माणमा सहयोग गरे पनि कर्मचारी व्यवस्थापनमा सहयोग नगर्ने भएकाले त्यसको व्यवस्थापन सञ्चालक स्वयमले गर्नुपर्ने मुख्यमन्त्री शाहको भनाइ छ । घोडाघोडी घुम्न र दर्शन गर्न आउनेहरुलाई सर्वसुलभ रुपमा बास बस्नका लागि दुई बर्ष अगाडि स्थानीयको पहलमा धर्मशाला निर्माण शुरु गरिएको समितिका सचिव लक्ष्मीप्रसाद भट्टराईले जानकारी दिए ।
प्रदेश सरकारबाट २० लाख अनुदान सहयोगबाट पाँच कोठा सटर निर्माण भएको बताउनुभयो । व्यक्तिगत आएको सहयोगले पाँचकोठे भवनको तला थप्न सहयोग मिलेको बताइएको छ । उनले स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारलाई घोडाघोडीमा धर्मशालाको आवश्यक रहेको जनाउँदै सहयोगका लागि आग्रह गरेको सुनाए ।
धर्मशालाको डिपीआर अनुसार राष्ट्रिय योजना आयोगले छुट्याएको बजेटले बन्दै गरेको भवन बाहेक अन्य निर्माणका कार्यमा रकम अपुग हुने भएपछि थप निर्माणका लागि प्रदेश सरकारको सहयोग आवश्यक रहेको समितिका अध्यक्ष लक्ष्मीप्रसाद न्यूरेले बताए ।
धर्मशाला निरीक्षण कार्यक्रममा घोडाघोडी नगरपालिकाका नगरप्रमुख खडकबहादुर रावत, वडा अध्यक्षहरु, घनश्याम ओझा, लोक बहादुर चन्द, भरत बहादुर शाही, टेलीभिजन कार्यक्रम इन्द्रेणीका सञ्चालन कृष्ण कँडेल लगायतको उपस्थिति रहेको थियो ।





