बाजुरा- बाजुराको सदरमुकाम मार्तडीमा सबारीसाधन पार्किङमा समस्या हुने गरेको छ । मार्तडीमा विगत ११ वर्षदेखि पार्किङको व्यवस्था नहुँदा यहाँ आउने सानाठूला सबै सवारीसाधनलाई दैनिक समस्या हुने गरेको हो ।



मार्तडीमा बस चल्न थालेको झन्डै ११ वर्ष भए पनि अझै पार्किङको व्यवस्था नहुँदा सवारीसाधनलाई समस्या भएको गाडीधनी रामचन्द्र गिरीले बताए । अहिले देशका विभिन्न सहरदेखि लामो दुरीका झन्डै १० भन्दा बढी बस दैनिक सदरमुकाम मार्तडीमा पुग्ने गरेका छन् । मार्तडीमा पार्किङका लागि ठाउँ नहुँदा यहाँ आएका सवारीसाधनलाई अहिले सडकको छेउछाउमा राख्नु परेको छ ।



मार्तडीमा पार्किङ स्थापनाका लागि बस व्यवसायले पटक पटक आवाज उठाउने गरेको भए पनि सम्बन्धित निकायबाट कुनै सुनुवाइ नभएको गिरीले बताए ।
पछिल्लो समय काठमाडौँ, नेपालगन्जदेखि एक/एक, महेन्द्रनगर देखि चार, धनगढी देखि तीन र अत्तरिया देखि एक गरेर दैनिक १० वटा बस मार्तडीमा पुग्ने गरेका छन् । मार्तडीमा पुग्ने गरेका यी सबै साना तथा ठूला सवारी साधन अहिले नेपाल टेलिकम, तुफानडाँडा र गैरीबजार सडकमा पार्किङ हुने गरेका छन् ।
२०७० फागुन १४ गते देखि मार्तडीमा बस सेवा सञ्चालन भए पनि बसपार्क नहुँदा ती बस सडकछेउमै पार्किङ हुने गरेका हुन् । साँफे–मार्तडी राजमार्ग अन्तर्गत बाजुराको इकटीगाड देखि मार्तडीसम्म सडक कालोपत्रे भए पनि बसपार्क भने अझै बन्न सकेका छैन । बडीमालिका नगरपालिका–८ को पाल्तमा बसपार्क बन्न लागेको झन्डै सात वर्ष भयो तर पनि काम पूरा भएको छैन ।




