


अत्तरिया- कैलालीमा दुई महिनाको अवधीमा लागूऔषध सम्बन्धी मुद्दामा ८१ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयले दिएको तथ्यांक अनुसार चालु आर्थिक वर्षको साउन र भदौमा लागूऔषध सम्बन्धीका ५३ मुद्दामा ८१ जनालाई पक्राउ गरेर मुद्दा चलाइएको हो ।
जिल्ला प्रहरी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) पदमबहादुर बिष्टले लागूऔषधको कारोबार तथा सेवनमा संलग्न ८१ जनालाई पक्राउ गरि मुद्दा चलाइएको जानकारी दिए । बिष्टले पक्राउ पर्नेमा दुई जना महिला र ७९ जना पुरुष रहेको बताए ।
उनका अनुसार साउनमा दर्ता भएका ३३ वटा मुद्दामा ४७ जना र भदौमा दर्ता भएका २० मुद्दामा ३४ जनालाई पक्राउ गरिएको थियो । उनीहरूको साथबाट विभिन्न खालका लागूऔषध समेत बरामद गरिएको छ ।
भदौमा मात्र २० किलो ८ सय ९९ ग्राम चरेस, साढे १५ ग्राम खैरो हेरोईन, १९ क्याप्सुल ट्रमाडोल बरामद गरिएको एसपी बिष्टले बताए । उनका अनुसार साउनमा ३८ ग्राम ३ सय ७० मिलीग्राम चरेस, १९ ग्राम ९ सय ३० मिलीग्राम खैरो हेरोईन, १२ वटा फेनागन एम्पुल, ५ ट्यावलेट नाइट्रोभेट लगायतका लागूऔषध बरामद गरिएको छ ।
दुई महिनामा झण्डै डेढ करोड बराबरको भन्सार छलीको अवैध सामान बरामद गरिएको छ । साउनमा ६५ लाख ७४ हजार र भदौमा ६६ लाख ४७ हजार गरेर एक करोड ३२ लाख २१ हजार बराबरको भन्सार छलीको सामान बरामद गरिएको प्रमुख बिष्टले बताए ।
यो अवधीमा ४३ मुद्दाका फैसला कार्यान्वयन गर्दै तीन वर्ष दुई महिना २० दिन कैद र एक लाख ७४ हजार १ सय ४४ रुपैयाँ जरिवाना समेत असुल गरिएको प्रहरीले जनाएको छ । लागूऔषध दुर्व्यसनी, चोरी तस्करी नियन्त्रण तथा फरार प्रतिवादीलाई कारवाहीको दायरामा ल्याउने गरि काम गर्ने प्रतिबद्धता अनुसार नै कार्यसम्पादन गरिरहेको एसपी बिष्टले बताए । गत आर्थिक वर्षसम्म एक हजार ८ सय ३५ जना विभिन्न मुद्दामा फरार प्रतिवादी रहेकोमा ४ सय ५८ जनालाई पक्राउ गरिएको उनले बताए । उनका अनुसार उनीहरूबाट १ सय ५४ वर्ष ८ महिना कैद र ५५ लाख आठ सय ८८ रुपैयाँ जरिवाना असुल गरिएको छ ।
गत वर्ष भन्सार छलीको अवैध सामानबाट दुई करोड १८ लाखको राजश्व संकलन गर्ने लक्ष्य राखिएको ३ सय ६१ प्रतिशत बढि आठ करोड ३५ लाख असुली गर्न सफल भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख बिष्टले बताए ।

