


काठमाडौँ- सरकारले सहकारीको रकम अपचलनमा संलग्नहरूलाई पक्राउ गर्न प्रहरी परिचालन गरेको छ । संसदीय छानबिन समितिको निर्देशन सरकारले कार्यान्वयन गर्ने निर्णय गरेसँगै प्रहरी अनुसन्धानमा ल्याउनु भनेका ५५ जनालाई पक्राउ गर्ने तयारी गरेको हो ।


सहकारी ठगीमा संलग्न गोरखा मिडिया नेटवर्क सञ्चालक एवं पूर्व डिआइजी छवि जोशीलाई प्रहरीले केहीबेर अघि पक्राउ गरेको छ ।



त्यस्तै गोरखा मिडिया नेटवर्ककै पूर्व सञ्चालक एवं रास्वाप सभापति रवि लामिछाने र कांग्रेस उपसभापति धनराजध गुरुङलाई समेत आइतबार नै पक्राउ गर्ने तयारी गरिएको स्रोतले बतायो । उनीहरूलाई पक्राउ गर्न प्रहरी परिचालन गरिएको छ । लामिछाने पूर्वगृहमन्त्री समेत हुन् ।
असोज २ गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार सहकारीको रकम अपचलन बारे संसदीय छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्न गृहमन्त्री रमेश लेखकले आइतबार नै प्रहरी मुख्यालय पुगेर निर्देशन दिएका थिए ।
आइजिपी वसन्तबहादुर कुँवरलाई लेखकले ‘जो जुन अवस्थामा भेटिन्छ त्यहीँ अवस्थामा पक्राउ गर्नु’ भन्ने कडा निर्देशन दिएका छन्। निर्देशन पाए लगत्तै प्रहरी परिचालन गरिएको हो ।





